काठमाडौं । वैदेशिक रोजगारीमा पठाउने भन्दै करोडौँ रुपैयाँ असुल्ने कन्सल्टेन्सी सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले धादिङको धुनीबेँसी नगरपालिका–४ का ३१ वर्षीय जीवा गौतम भनिने रमेश बयलकोटी र कालीकोट छाप्रेका २७ वर्षीय दर्शन नेपालीलाई पक्राउ गरेको हो ।
बुल्गेरिया, न्युजिल्यान्ड, रोमानिया, सर्बिया, क्रोएसियालगायतका देशहरूमा पठाउने भन्दै प्रतिव्यक्ति १० देखि १४ लाख रुपैयाँ उठाएर उनीहरू सम्पर्कविहीन भएको उजुरी परेपछि पक्राउ परेका हुन् ।
उनीहरूले ४२२ जनाबाट तीन करोड रुपैयाँ संकलन गरेको खुलेको कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले बताए ।
उनीहरूलाई कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) गोविन्द पन्थी नेतृत्वको टोलीले लामो समयको खोजीपछि पक्राउ गरेको हो ।