काठमाडौँ । विराटनगरमा मलामीका लागि निःशुल्क रूपमा उपलब्ध गराइँदै आएको बसका लागि महानगरपालिकाले इन्धन उपलब्ध गराउने भएको छ । विराटनगरका युवा करिम अन्सारीले निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको मलामी बसका लागि महानगरले इन्धन उपलब्ध गराउने भएको हो ।
विराट सेवा आश्रमसँगको सहकार्यमा विराटनगर वडा नम्बर १० ले अन्सारी र ज्येष्ठ नागरिकको सम्मानका लागि राखेको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर नागेश कोइरालाले मलामीका लागि निःशुल्क बस सेवा उपलब्ध गराएर उदाहरणीय कार्य गरेको भन्दै महानगरका तर्फबाट मासिक इन्धन उपलब्ध गराउने घोषणा गरे ।उनले भने, “यस्तो पवित्र कार्यमा महानगरपालिका पनि सहभागी हुन चाहन्छ ।
बसका लागि आवश्यक पर्ने इन्धन महानगरपालिकाले मासिक रूपमै उपलब्ध गराउनेछ ।” सो अवसरमा अन्सारीलाई वडाका तर्फबाट सम्मान गरिएको थियो । ब्लाङ्केट, छाता, हर्सिस, फलफूल प्रदान गरेर मेयर कोइरालाले ज्येष्ठ नागरिकलाई सम्मान गरेका थिए ।