काठमाडौं । नागढुंगा–सिस्नेखोला मुख्य सुरुङमार्ग वारपार छिचोलिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार सुरङमार्गभित्र विद्युतीय स्विच थिचेर सुरुङ छिचोलिएको घोषणा गर्नुभयो।
चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने सो सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ २ हजार ६ सय ६७ मिटर रहेको छ। बलम्बुदेखि सिस्नेखोलासम्म अहिले सडकको दूरी ८ किमि छ । सुरुङमार्ग बनेपछि सिस्नेखोला–बलम्बु दूरी ५ किलोमिटर हुन्छ।
यसअघि सुरुङमार्ग दुई मिटर खन्न बाँकी थियो । सोमबार दुई मिटर सुरुङ खनेर वारपार छिचोलिएको थियो। एक वर्षअघि फागुन महिनाभित्रै सुरुङ खनिसक्ने योजना बनाएको भए पनि स्थानीयले विभिन्न माग राखेर अवरोध गरेपछि वारपार छिचोलिने समय दुई महिना पर धकेलिएको सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ।
सुुरुङमार्ग छिचोलिए पनि मुख्य सुरुङका बाँकी सबै काम सम्पन्न गरेर गाडी गुड्न भने अझै एक वर्ष लाग्ने सुरुङमार्ग निर्माण आयोजनाका उपनिर्देशक गोविन्द दुमरुले जानकारी दिनुभयो। आयोजनामा तीनवटा अन्डरपास, चारवटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीनवटा पुल (ब्रिज) र एउटा फ्लाइओभर रहेका छन् । बलम्बु क्षेत्रमा फ्लाइओभर निर्माणाधीन अवस्थामा रहेको छ।
त्यस्तै, सुरुङभित्रको सडक ढलान, बत्ती जडान, अक्सिजन पाइप जडानलगायतका काम बाँकी रहेको आयोजनाले जनाएको छ। मुख्य सुरुङमा सवारी गुड्ने सडक साढे ९ मिटर चौडा हुन्छ। जसमा दायाँबायाँ साढे तीन/तीन मिटर र बीचमा तीन मिटर सडक छुट्टाछुट्टै रेखांकन गरिएको हुन्छ। बीचको तीन मिटर दुवैतर्फका सवारी साधनले प्रयोग गर्न सक्छन्। आजको नेपाल समाचारपत्र दैनिकबाट