आज सभामुखद्वारा बोलाइएको सर्वदलीय बैठकमा प्रधानमन्त्री सहभागी होलान् ?

21.1k Shares

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आज प्रधानमन्त्रीसहित राजनीतिक दलका शीर्ष नेतासँग छलफल गर्ने भएका छन् । पछिल्लो राजनीतिक घटनाक्रमका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताहरुसँग छलफल गर्न लागेका हुन् ।

उनले राजनीतिक दलका प्रमुखहरु, पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गर्न लागेका हुन् । उनले शुक्रबार २ बजे छलफलका लागि संसद् भवन नयाँ बानेश्वरमा बोलाएका छन् ।

छलफलमा सहभागिताका लागि दलका प्रमुख नेताहरूलाई सभामुखले पत्र पठाएका थिए । उक्त छलफलमा प्रधानमन्त्री सहभागी नहुने बिहीबार प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बाह्रखरीसँग बताएका थिए ।

“प्रधानमन्त्रीको नाममा पार्टी कार्यालयमा पत्र पुगेको रहेछ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबार हो,” सल्लाहकार थापा भन्छन्, “प्रधानमन्त्रीलाई पत्र पठाउने त्यसरी होइन । भेटेर छलफल गर्ने हो । यसरी बोलाएको बैठकमा उहाँ सहभागी हुनुहुन्न ।”

यता, एमालेका असन्तुष्ट खेमाको नेतृत्व गरिरहेका माधवकुमार नेपाल भने बैठकमा सहभागी हुने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी गठबन्धनमा बहुमत हुँदाहुँदै प्रक्रिया–पद्धति मिचेर संसद् विघटन गरेको भन्दै विपक्षी गठबन्धन १४६ सांसदको हस्ताक्षर लिएर अदालत पुगेको छ । मुद्दामाथि सुनुवाइ सुरु भएको छ । सभामुख जारी संवैधानिक र राजनीतिक संकटको समाधान के हुन्छ भनेर छलफलमा जुटिरहेका छन् ।

सम्बन्धित समाचार