मुख्यमन्त्री कार्कीले लेलान् त विश्वासको मत ?

17.2k Shares

इटहरी । कोशी प्रदेशसभाको विशेष अधिवेशन आह्वान भएको छ । प्रदेश प्रमुख परशुराम खापुङले सभाका एक चौथाइभन्दा बढी सदस्यको मागनुसार आगामी ६ वैशाखका लागि विशेष अधिवेशन आह्वान गरेका हुन् ।

‘कोशी प्रदेशसभाका सम्पूर्ण सदस्य संख्याको एक चौथाइभन्दा बढी प्रदेशसभा सदस्यहरूको मिति २०८०।१२।२६ गतेको लिखित अनुरोधमा माननीय प्रदेश प्रमुख परशुराम खापुङज्यूले नेपालको संविधानको धारा १८३ को उपधारा ९३० बमोजिम संवत् २०८१ साल वैशाख ६ गते बिहीबार दिनको १ः०० बजे कोशी प्रदेशसभाहल विराटनगरमा कोशी प्रदेशसभाको अधिवेशन आह्वान गर्नुभएको छ,’ प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

संघीय सरकारमा सत्ता गठबन्धन हेरफेर भएसँगै त्यसको प्रभावमा परेको कोशीमा पनि सरकार परिवर्तनको चलखेल भइरहेको छ । एमाले–माओवादीका ५२ सांसदले मुख्यमन्त्री केदार कार्कीलाई दिएको विश्वासको मत फिर्ता लिएको प्रदेश प्रमुखलाई जानकारी गराइसकेका छन् । संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई संसद्का रूपमा समर्थन गरेका माओवादी र एमालेका सांसदहरूले समर्थन फिर्ता लिएसँगै विशेष अधिवेशनको माग गरेका थिए ।

एक चौथाइ बढी सदस्यहरूले विशेष अधिवेशनको माग राखेपछि अधिवेशन आह्वान गरिएको हो । प्रदेश प्रमुख कार्यालयका प्रवक्ता श्रेष्ठका अनुसार बिहीबार ६ वैशाख २०८१ दिउँसो १ बजे प्रदेशसभाको विशेष अधिवेशन हुनेछ ।

गत २७ असोजमा एमालेका ३९ जना सांसद र नेपाली कांग्रेसका डा. शेखर कोइराला समूहका आठ जना सांसदसमेत गरी ४७ जना सदस्यको समर्थनमा केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । गत १ कात्तिकमा विश्वासको मत दिएको माओवादी केन्द्र र एमालेले सोमबार समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री अल्पमतमा परेको एमालेको दाबी छ । अब मुख्यमन्त्रीले विश्वासको मत माग्नुपर्ने एमालेको माग छ । मुख्यमन्त्रीले विश्वासको मत नमागे स्वतः उनी पदमुक्त हुने एमालेले दाबी गर्दै आएको छ । आजको राजधानी दैनिकबाट 

सम्बन्धित समाचार