काठमाडौं । ठमेलको मुटुमा ऐतिहासिक कमलपोखरी मासेर शक्तिको आडमा बनेको छाया सेन्टर सत्ता र शक्तिको आडमा नक्कली मोही खडा गरेर स्वार्थी समूहले आफ्नो नाममा बनाएको पाइएको छ । छाया सेन्टर बन्नुअघि सो ठाउँको ऐतिहासिक कमलपोखरी रहेको विभिन्न तथ्य र प्रमाणले प्रस्ट पारेको छ ।
सय वर्ष पहिलादेखि हालको छाया सेन्टर भएको ठाउँ ‘थँ बहिल’मा कमलपोखरी थियो । सो पोखरी केशरशमशेरको पालासम्म रहेको थियो । केशरशमशेरपछि उनका सन्तानले शक्ति र सत्ताको आडमा ‘भगवानको बिर्ता’ रहेको ऐतिहासिक अभिलेख नामेट बनाएर राज्य शक्तिको समेत दुरुपयोग गरेर व्यक्तिलाई बिक्री गरे । व्यापारिक छाया सेन्टर कम्प्लेक्स बनाउनेहरूले जे जस्तो दाबी गरे पनि ऐतिहासिक अभिलेख र प्रमाणले सो क्षेत्र राजगुठी र कमलपोखरी रहेको तथ्य भने नकार्न सक्दैनन् । १९७६ सालसम्म पोखरीको स्याहारसुसार’bout अभिलेखमा उल्लेख छ । त्यसपछिका अभिलेखले पोखरी हडप्न थालिएको देखाउँछ ।
तत्कालीन पुनरावेदन (हाल उच्च अदालत) पाटनको फैसलामा टेकेर छाया सेन्टर भवन निर्माण भए पनि सो फैसलालाई सर्वोच्च अदातले त्रुटिपूर्ण भनिसकेको अवस्था छ । सर्वोच्च अदालतले पुनरावेदनको फैसला त्रुटिपूर्ण भन्दै खारेज गरिसकेपछि भवन भत्काएर सो स्थानमा ऐतिहासिक कमलपोखरी बसाल्नुपर्ने हो ।
तर, सर्वोच्चमा दायर भएको मुद्दा लामो समयदेखि विचाराधीन हुँदा निर्वाध रूपमा छाया सेन्टर सञ्चालन भइरहेको छ । छाया सेन्टरका लगानीकर्ताले सो क्षेत्रमा निजी पोखरी थियो भनेर दाबी गरे पनि राजधानीले फेला पारेको तथ्य हेर्दा सो ठाउँमा श्री सिंहसार्थ गरुड भगवान गुठीअन्तर्गत कमलपोखरी रहेको देखिन्छ ।
छायाँ सेन्टरका तर्फबाट अदालतमा पनि निजी पोखरी किनेको दाबी पेस भइरहेका छन् । तर, सर्वोच्च अदालतमा अधिवक्ता दीपकविक्रम मिश्र, रामहरी श्रेष्ठ र कमलपोखरी संरक्षणका अभियन्ता भागवतनरसिंह प्रधानले छाया सेन्टरलाई विपक्षी बनाएर मुद्दा दायर गरेका छन् । आजको राजधानी दैनिकबाट