ठूलो दलबाट मुख्यमन्त्री बन्ने पाण्डेको दाउ

17.4k Shares

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टलाई उहाँले राजीनामा पत्र बुझाउनुभएको हो । फागुन २३ गते नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि उहाँ अल्पमतमा पर्नुभएको थियो । सत्ताको बागडोर जोगाउने पहलमा लाग्नुभएको मुख्यमन्त्रीले ठूला दलको हैसियतमा सरकार बनाउने लक्ष्यका साथ राजीनामा दिनुभएको हो ।

गण्डकी प्रदेशमा सत्ता जोगाउन निकै कसरत गर्नुभएका उहाँले बहुमत नपुगेपछि ठूलो दलको हैसियतमा सरकार बनाउने मार्गमा पुग्नुभएको हो । तर, पाण्डेलाई त्यो पनि सहज भने हुने छैन । राजीनामा बुझाएलगत्तै प्रदेश प्रमुखसँगको छलफलमा पाण्डेले परम्पराबमोजिम एक हप्ताभन्दा बढी समय नदिन आग्रह गर्नुभएको थियो । उहाँको आग्रहअनुरूप प्रदेश प्रमुखले अब चैत्र २७ गते दिउँसो ३ बजेभित्र संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनको दाबी पेस गर्न आह्वान गर्नुभएको छ ।

बहुमतको सरकार बनाउन अब गण्डकीमा एमाले–माओवादीका लागि ६ दिनको समय रहेको छ । राप्रपाको २७ गतेसम्म आन्दोलन भएकाले तत्कालै सरकारमा जाने योजना नहुँदा गण्डकीमा एमाले–माओवादी सरकार बन्न कठिन छ । यदि, एमालेले बहुमत ल्याउन सकेको खण्डमा भने खगराज अधिकारीको ढोका खुला हुनेछ । यद्यपि, ठूलो दलको नेताको हैसियतले धारा १६८ को उपधारा ३ बमोजिम फेरि मुख्यमन्त्रीको शपथ खान पाइन्छ कि भन्ने आशामा मुख्यमन्त्री पाण्डेले एक दिनअगावै राजीनामा बुझाउनुभएको हो ।

गण्डकीमा राप्रपा निर्णायक छ । समाजवादीबाट दीपक मनाङेलाई अलग्याएर मन्त्री दिनुभएको पाण्डेले राप्रपाका दुई सांसदलाई समेत मन्त्री बनाउने योजनाअनुसार अघि बढ्नुभएको थियो । चैत २७ गतेसम्म राप्रपा आन्दोलनमा भएकाले आफूले विश्वासको मत नलिई राजीनामाको बाटो रोजेको पाण्डेले नै बताउनुभएको छ । राजीनामापश्चात् पाण्डेले मुलुकको नेतृत्व नै अस्थिरताको कारक बनेको आरोप लगाउनुभयो ।

‘पहिलाको संविधानमा भएका भन्दै केही संसदीय प्रक्रियालाई स्थिरता दिनेखालको बनाउनुपर्छ भनेर २ वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाउने, अविश्वासको प्रस्ताव पारित भएको थियो । एक वर्षभित्र फेरि ल्याउन नपाउने भन्या स्थिरताका लागि ग¥या काम हो’, मुख्यमन्त्री पाण्डेले भन्नुभयो– ‘संविधानबाट स्थिरता त ल्याउन खोज्यौं । तर, जसले स्थिरता कायम गर्नुपर्ने हो अथवा मुलुकको नेतृत्व जसले गर्ने हो उहाँ नै अस्थिर बनेको कारण समस्या ज्यूँकात्यूँ रह्यो ।’ आजको समाचारपत्र दैनिकबाट 

सम्बन्धित समाचार