सहकारीको साख जोगाउन मुस्किल

16.1k Shares

काठमाडौँ । ‘सहकारीमा सुशासन प्रविधि र एकीकरण’ भन्ने नाराका साथ मङ्गलबार देशभर ६७ औँ राष्ट्रिय सहकारी दिवस मनाइएको छ । सहकारी दिवस मनाइरहँदा यता सहकारी संस्थाको साख जोगाउनै मुस्किल भएको छ । 

जनताको आर्थिक तथा सामाजिक रूपान्तरणका साथै गरिबी निवारणका लागि काम गर्नुपर्ने सहकारी संस्थाहरूले बचत सङ्कलन र नाफामुखी कार्यमा केन्द्रित भए पनि समस्या उत्पन्न भएको हो । 

२०१३ चैत २० गते चितवनको शारदानगरमा बखान सहकारी स्थापना भएको दिनको स्मरणमा हरेक वर्ष सहकारी दिवस मनाइन्छ । अहिले मुलुकभर ३१ हजार तीन सय बढी सहकारी छन् । सहकारीमा करिब ७३ लाख बढी सदस्य, ९४ अर्ब सेयर पुँजी, पौने चार खर्ब ७८ अर्ब बढी बचत र चार खर्ब २६ अर्ब बढी ऋण परिचालन र झन्डै ९४ हजार प्रत्यक्ष रोजगारी सिर्जना गरेको छ । कुल गार्हस्थ उत्पादनमा तीन प्रतिशत र वित्तीय पहुँचमा करिब २० प्रतिशत योगदान सहकारीको रहेको छ ।

धेरै सहकारीको कारोबार जोखिमपूर्ण देखिएको छ । सरकारले प्राथमिकता राखेको कृषिजन्य उत्पादन, प्रशोधन, बजारीकरणका साथै सेवा क्षेत्रमा सहकारीले अपेक्षित योगदान दिन सकेका छैनन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले ६७ औँ सहकारी दिवसको नारा अनुसार नै सहकारीमा सुशासन, प्रविधि र एकीकरणको आधारमा समुदायको आर्थिक सामाजिक रूपान्तरणमा महìवपूर्ण भूमिका निर्वाह गर्न सक्नुपर्ने बताउनुभयो । 

केही सीमित सहकारीका कारणले सिङ्गो सहकारी क्षेत्र बदनाम भएको बताउँदै उहाँले व्यक्ति मनोमानीमा निजी कम्पनी जसरी सहकारी चल्दा समस्या आएको बताउनुभयो । आजको गोरखापत्र दैनिकबाट 

सम्बन्धित समाचार