विराटनगर । विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ)ले चर्च ब्वाईजलाई पराजित गर्दै आठौँ संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।
विराटनगरको सहिद मैदानमा सोमबार सम्पन्न भएको तेस्रो क्वाटरफाइनल खेलमा इटहरी गोल्डकपको विजेता समेत रहेको चर्च ब्वाइजलाई २–० गोलले निराश बनाउँदै एसपीएफ सेमिफाइनलमा पुगेको हो ।
जितसँगै एपीएफले बुधबार फाइनल प्रवेशका लागि सेमिफाइनलमा घरेलु टोली सांग्रिला मोरङ एफएसँग खेल्नेछ ।
जितका लागि एपीएपका प्रदीप लामा र अनिष महर्जनले गोल गरे । खेलको पहिलो हाफसम्म दबाबमा राखेको एपीएफले दोस्रो हाफदेखि आक्रमक खेल पस्कियो । ५७ औँ मिनेटमा एपीएफका प्रदीपले मध्यभागबाट बललाई एक्लै अगाडि बढाएर डिबक्स भित्रबाट आकर्षक गोल गरी टिमलाई अग्रता दिलाए । प्रदीपले अन्तिम डिफेन्डरलाई बिट गर्दै बल क्लियर गरेका थिए । ८१ औँ मिनेटमा विदेशी खेलाडी फोडे फोफोनाले निकालेको पासलाई एपीएफका अनिष महर्जनले गोल गरी टिमको जित सुनिश्चत गरे ।
छैठौँ संस्करणको विराट गोल्डकपको विजेता समेत रहेको एपीएफले दश महिनापछि सहिद स्मारक ए डिभिजन लिग फुटबलमा हारेको बदला समेत लिएको छ । लिग फुटबलमा चर्च व्वाईजले एपीएफलाई ४–१ गोलले पराजित गरेको थियो ।
चर्चब्जाइजको डिफेन्डर र रक्षापंक्तिमा देखिएको कमजोरीको फाइदा उठाउँदै एपीएफले जित निकालेको छ । खेलको सुरूवातदेखि एपीएफले आक्रमक खेल पस्कियो । खेल सुरु भएको १५ औँ मिनेटमा एपीएफका मनिकुमार लामाले पाएको सुन्दर गोल गर्ने अवसर खेर फाले । प्रदीपले निकालेको पासलाई मनिकुमारले प्रहार गरेको वान भर्सेस वानको प्रहार बाहिरयो । २७ औँ मिनेटमा एसपीएफका जोनाह ग्लोरीले डि बक्सभित्रबाट गरेको पावरफुल प्रहार फस्टबारबाट बाहिरियो । त्यसलगतै ३४ औँ मिनेटमा एपीएफका प्रदीप लामाले डिबक्सभित्र पास मिलाउँदा जोनाह ग्लोरीले गरेको फ्लिकलाई उत्कृष्ठ रूपमा चर्चब्वाइजका गोलरक्षक दीप कार्कीले उत्कृष्ट बचाए । ४४ औँ मिनेटमा चर्च ब्वाइजका राजेश परियारले डिबक्स नजिकबाट गरेको कडा प्रहार बाहिरयो ।