सर्लाही- सर्लाहीमा आइतबार भिनाजुको नाममा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिँदै गरेका एक जना परीक्षार्थी पक्राउ परेका छन्।
जनता माध्यमिक विद्यालय धनकौल गाउँपालिका- ३ हरकठवा परीक्षा केन्द्रबाट परीक्षा दिँदै गरेका नक्कली परीक्षार्थीलाई प्रहरीले सूचनाका आधारमा पक्राउ गरेको हो। पक्राउ पर्नेमा कृष्ण महतो छन्।
कृष्ण आइतबार भिनाजु राकेशकुमार महतो (सिम्बोल नं ०२२१००४५) अनिवार्य गणित विषयको परीक्षा दिन परीक्षा केन्द्र पुगेका थिए।
कृष्णलाई परीक्षा अनुगमन समितिले भिनाजुको नाममा परीक्षा दिइरहेको पुष्टि गरेपछि पक्राउ गरेको हो। कृष्णका भिनाजु राकेशकुमार जनकल्याण माध्यमिक विद्यालय धनकौल गाउँपालिका- १ धोबिनयाँका विद्यार्थी हुन्।
राकेशकुमारको अहिलेसम्मका सम्पूर्ण परीक्षा रद्द गरिएको र अब अन्य विषयको परीक्षा समेत दिन नपाउने शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीका निमित्त प्रमुख रामवृक्ष महतोले बताए।
नक्कली परीक्षार्थी कृष्ण महतोलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा राखिएको छ।