कालो ढुसी : धेरै संक्रमित फेला पर्नुको कारण के हो ?

20.4k Shares

काठमाडौं । पछिल्लो समय प्राणघातक बन्दै गएको ‘कालो ढुसी’को संक्रमण तुलनात्मक रुपमा धेरै देखिएको छ । नेपालमा पनि कालो ढुसीको संक्रमणबाट जेठ २० गते एकजनाको मृत्यु भइसकेको छ भने कम्तीमा १२ जनामा यसको संक्रमण पुष्टि भइसकेको छ ।

छिमेकी मुलुक भारतमा कालो ढुसीबाट संक्रमित हुनेको संख्या करिब १२ हजार पुगेको छ । यसबाट संक्रमित हुनेमध्ये अधिकांश मानिसहरु कोरोनाबाट हालै मात्र निको भएका मानिसहरु छन् । यति धेरै मानिसमा कालो ढुसीको संक्रमण देखिनुलाई असामान्य मानिएको छ । यो संक्रमणको कारण मृत्यु हुनेको संख्या ५० प्रतिशत रहेको छ ।

चिकित्सा क्षेत्रका केही जानकारहरुका अनुसार भारतमा मधुमेह भएका मानिसको संख्या ठूलो भएकाले उनीहरुमा कालो ढुसीको संक्रमण बढेको हो । तर यो संक्रमणको लागि मधुमेह मात्र कारण भने होइन । यहाँ कालो ढुसी संक्रमणको विषयमा केही जानकारी उल्लेख गरिएको छ :

विश्वका कुन कुन मुलुकमा देखिएका छन् म्युकर्माइकोसिस ?

कोरोना महामारीभन्दा पहिला विश्वभरका कम्तीमा ३८ मुलुकमा म्युकर्माइकोसिस संक्रमण देखिएको थियो । यसलाई सबैले बुझ्ने भाषामा ‘कालो ढुसी’ भनिन्छ ।

लिडिङ इन्टरनेशनल फङ्गल एजुकेसनका अनुसार भारत र पाकिस्तानमा प्रति १० लाख मानिसमा यो संक्रमण देखिनेको संख्या १४० देखिएको छ । यी दुई मुलुक विश्वमा सबैभन्दा उच्च दरमा उक्त संक्रमण देखिने मुलुक हुन् ।

म्यानचेस्टर युनिभर्सिटीका ढुसीको संक्रमण विशेषज्ञ डा. डेभिड भारतमा कोरोना महामारी आउनुभन्दा पहिला नै कालो ढुसीको संक्रमण अन्य मुलुकको तुलनामा धेरै हुने गरेको बताउँछन् । उनी भन्छन्, ‘म्युकर्माइकोसिस धेरै हदसम्म अनियन्त्रित मधुमेहसँग जोडिएको छ र भारतमा यस्ता बिरामी धेरै छन् ।’

विश्वभर गरिएको एक अध्ययनमा कोरोनाको संक्रमणबाट निको भएका र ढुसीको संक्रमण पनि देखिएकामध्ये ९४ प्रतिशत मानिस मधुमेहबाट पीडित थिए । उनीहरुमध्ये ७१ प्रतिशत भारतीय थिए ।

भारतका साथै अन्य केही मधुमेहका बिरामीको संख्या धेरै भएका मुलुकमा पनि कालो ढुसीको संक्रमण बढेको देखिएको छ । पाकिस्तान र बंगलादेशमा पनि मधुमेहका बिरामीको संख्या धेरै छ तर यी मुलुकमा म्युकर्माइकोसिसका संक्रमितको संख्या भने धेरै छैन ।

पाकिस्तानमा पनि पछिल्लो केही सातामा म्युकर्माइकोसिसका पाँच संक्रमित थपिएका छन् । यीमध्ये १२ मे सम्ममा चारजनाको मृत्यु भएको थियो ।

ब्राजिलमा अहिलेसम्म कालो ढुसीका २९ संक्रमित देखिएका छन् । यद्यपि अहिलेसम्म यीमध्ये कति मानिस कोरोनाबाट संक्रमित भएका थिए र कतिजनामा मधुमेहको समस्या थियो भन्ने खुलेको छैन ।

रुसले पनि पछिल्लो केही समययता म्युकर्माइकोसिसबाट केही मानिस संक्रमित भएको जानकारी दिएको छ । तर, रुसले पनि यीमध्ये कति मानिसमा मधुमेह थियो भन्ने जानकारी दिएको छैन । अमेरिकामा मधुमेहका बिरामीको संख्या धेरै भए पनि म्युकर्माइकोसिसको संक्रमण भने निकै कम मानिसमा मात्र देखिएको छ ।

मधुमेहका मानिसलाई यो संक्रमण खतरनाक हुन सक्छ ?

जानकारहरुका अनुसार विशेषगरी धेरै मानिसलाई आफूलाई मधुमेहको समस्या छ भन्ने कुरा थाहा नभएकाले पनि समस्या बढेको छ । आईडीएफले गरेको एक अनुमानमा नेपाल, भारत, बंगलादेश र श्रीलंकामा करिब ५७ प्रतिशत मानिसलाई मधुमेहको बारेमा जानकारी नहुने पाइएको थियो । यसमध्ये पनि पाकिस्तानमा यस्ता मानिसको संख्या धेरै हुन सक्ने अनुमान छ ।
यो पनि पढ्नुहोस कालो ढुसीले लिन थाल्यो ज्यान, उपचारका लागि छैन औषधि

किर्गिस्तानको इन्टरनेशनल स्कुल अफ मेडिसिनका डा. हरिप्रसाद प्रकाश भन्छन्, ‘भारतमा ठूलो संख्यामा अनियन्त्रित मधुमेहका बिरामी छन्, किनकि मानिसहरु नियमित रुपमा आफ्नो स्वास्थ्य जाँच गर्दैनन् ।’

उनका अनुसार मधुमेहको समस्या अन्य रोगको परीक्षण गर्दा फेला पर्छ । साथै यसको उपचार पनि गराइँदैन । मधुमेहलाई नियन्त्रणमा नराख्दा धेरै किसिमको संक्रमण हुने सम्भावना बढी हुन्छ । जसमध्येको एउटा ढुसीको संक्रमण पनि हो ।

अफ्रिकी मुलुकमा पनि मधुमेहको समस्या पत्ता नलागेका मानिसको संख्या ६० प्रतिशत रहेको बताइएको छ । तर, संख्याको हिसाबमा भने यहाँ म्युकर्माइकोसिसका केवल तीन प्रतिशत संक्रमित फेला परेका छन् ।

डा. डेनिङ भन्छन्, ‘यसको कारण म्युकर्माइकोसिसका संक्रमित फेला नपरेका पनि हुन सक्छन् । यसको पहिचान गर्ने काम पनि सजिलो छैन ।’ नमुना संकलनमा हुने कठिनाइ र डाइग्नोस्टिक टेस्टको संवेदनशीलताको कमीको कारण कालो ढुसी पहिचान गर्न कठिन हुन्छ ।

कालो ढुसीको संक्रमण हुनुको कारण के हो ?

विशेषज्ञहरुका अनुसार कोरोनाका केही संक्रमितको उपचारमा अन्धाधुन्ध स्टेरोइडको प्रयोगलाई पनि कालो ढुसीको संक्रमणसँग जोडेर हेर्न सकिन्छ । कोरोनाका बिरामीको लागि  विशेषगरी दुई स्टेरोइड– डेक्सामेथासिन र मिथाइल प्रेडनिसोलोनको प्रयोग हुने गरेको छ । यसको प्रयोग कोरोनाका बिरामीको प्रतिरक्षा तन्त्रमा परेको असर कम गर्नका लागि गरिंदै आएको थियो । यद्यपि धेरैले डाक्टरको परामर्शविना नै स्टेरोइड लिएका थिए । जसको कारण पनि कालो ढुसीलगायत अन्य संक्रमण हुने जोखिम पनि बढी हुन सक्ने जानकारहरुले बताएका छन् ।

बेलायतमा करिब दुई हजार मानिसमा गरिएको अध्ययनमा डेक्सामेथासिनले कोरोनाका गम्भीर तथा कडा लक्षण देखिएका मानिसको मृत्युदर कम गर्न सहयोग गर्ने तर सामान्य लक्षण देखिएका संक्रमितको लागि भने यसको संक्रमण हानिकारक हुन सक्ने पाइएको थियो । अध्ययनमा स्टेरोइडको धेरै मात्रा लिनु पनि हानिकारक हुन सक्ने पाइएको थियो । बीबीसीबाट

 

सम्बन्धित समाचार