काठमाडौं । शिक्षण पेशाबाट राजनीतिमा हाम फालेका प्रतिनिधि सभाका पूर्व सभामुख नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा राजनीतिक रूपमा थला पर्नुभएको छ।
चिनियाँसँग ५० करोड रुपियाँ बार्गेनिङ गरेको अडियो प्रकरण, संसद् सचिवालयकी महिला कर्मचारी रोशनी काण्ड र अवैध सुन तस्करी प्रकरणमा फसेका पूर्वगृहमन्त्रीसमेत रहेका महरा राजनीतिक रूपमा थलिन पुग्नुभएको हो।
महरालाई विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको ९ किलो सुन तस्करीको पुनः अनुसन्धान गर्न अवैध सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा सोमबार कपिलवस्तुबाट प्रहरीले पक्राउ गरेको छ । उहाँ भारत जाने क्रममा पक्राउ पर्नुभएको बताइएको छ।
यसअघि उहाँले सोही प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा उपस्थित भएर बयान दिनुभएको थियो। तर, सीआईबीले थप अनुसन्धान नगरी छाडेको भन्दै जाँचबुझ आयोगले सीआईबी प्रमुख किरण बज्राचार्यमाथि समेत कारबाही गर्नुपर्ने राय सरकारलाई बुझाएको थियो।
उक्त प्रतिवेदनको बुझेलगत्तै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गृह सचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिनुभएको थियो। सोमबार पक्राउ परेका महरालाई सरकारी वकिलको कार्यालयमार्फत् जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि चार दिन हिरासतमा राख्न अनुमति दिए पनि पछि अस्पतालमा बस्न दिन आदेश दिएको छ। आजको नेपाल समाचारपत्र दैनिकबाट