काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अशोककुमार चौधरीले गृहमन्त्री रवि लामिछानेलाई गृहमन्त्री स्वीकार्न आँट गर्न आग्रह गरेका छन्। सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद चौधरीले रवि लामिछाने जनताको मत, विश्वास र इज्जतको कदर गर्दै गृहमन्त्री बनेको भन्दै गृहमन्त्रीको रुपमा स्वीकार्न आँट गर्न आग्रह गरेका हुन्।
यसअघि बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद गगन थापाले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा छानविन गर्नुपर्ने धारणा राखेका थिए । त्यसको जवाफ दिँदै सांसद चौधरीले अरुलाई औँला देखाउनुअघि आफैँतिर फर्किएका औँलाहरु हेर्न आग्रह गरे।
उनले भने, ‘माननीय रवि लामिछानेमाथि भएको जनताको मत, विश्वासको, इज्जत र कदर गरौँ र सोही विश्वासलाई कायम गर्न आएको रुपमा उहाँलाई उपप्रधान तथा गृहमन्त्रीको रुपमा स्वीकार गर्न आँट गरौँ। किनकी देशमा सुशासन त कायम गर्नैपर्छ । आफू भलो त जगत भलो भनेझैँ अरुलाई औँला देखाउनुभन्दा पहिला आफैँतर्फ फर्किएका औँलाहरु हेर्न सुझाव दिन चाहन्छु।’सांसद चौधरीले सांसद थापालाई सत्ताका लागि पानी बिनाको माछाझैँ नतड्पिन सुझावसमेत दिए।