काठमाडौं । लामो तयारीपछि हिन्दूवादीहरुको बलियो दल खुल्ने भएको छ । दल खोल्न वर्षौदेखि हिन्दूवादीले व्यापक तयारी गरेको बुझिएको छ । उक्त दलको संगठन हिमाल, पहाड र तराई गरी सबै जिल्ला र पालिकाहरुमा हुने भएको छ । हिन्दुत्व मुद्दा बोकेको देशकै सबैभन्दा बलियो दलका रुपमा उक्त दल रहनेछ । हिन्दूवादीको दल खोल्ने भित्री अभियानसहितका गृहकार्य चलिरहेको छ । विशेषगरी युवा विद्यार्थीहरु हिन्दूवादी दल खोल्ने अभियानमा जुटिरहेका छन् ।
देशमा विभिन्न नाममा हिन्दूवादीको दल भएपनि तिनको सैद्धान्तिक इमान्दारितामा प्रश्न उठाइएको छ । कतिपयले राजतन्त्र बोक्न गरेका छन् । तर, नयाँ खुल्न लागेको हिन्दूवादी दल विशुद्ध हिन्दुत्वको मुद्दामा केन्द्रित हुने भएको छ । उक्त दलले चुनावलाई केन्द्रित गरेर भन्दा मुद्दालाई बलियो बनाउँदै देशव्यापी रुपमा हिन्दू र सनातन धर्मालम्बीलाई एकतावद्ध बनाउने अभियान नै चलाउने भएको छ । देशमा धर्मान्तरण र सांस्कृतिक आक्रमणको प्रतिकार गर्ने भएको छ । हिन्दू भन्नै डराउनुपर्ने अवस्था बनाइएको र विभिन्न भेषमा देशमा हिन्दूमाथि आक्रमण भइरहेको छ ।
विभिन्न दलमा हिन्दूविरोधी गुटहरु बलियो रहेका छन् । विशेषगरी कम्युनिस्ट पार्टीहरु हिन्दूविरोधी अभियानमै छन् । उनीहरु धर्मनीरपेक्षको खोल ओढेर हिन्दूमाथि आक्रमणमा भूमिका खेलिरहेका छन् । नेपाली काँग्रेसभित्र पनि हिन्दूवादीलाई जाग्नबाट रोकिएको छ । यो रोकावटले उक्त दल हिन्दूराष्ट्रको पक्षमा उभिने छैन भन्ने सन्देश गइसकेको छ । काँग्रेस सिद्धान्तत हिन्दूवादी होइन । उसको सिद्धान्त समाजवाद हो । काँग्रेसभित्र रहेका हिन्दूवादीहरु कुनै वैकल्पिक शक्ति नभएकाले त्यहीं रहन वाध्य छन् । नयाँ बन्ने दलमा काँग्रेस र एमालेमा रहेका उल्लेख्य संख्याका बलिया नेता कार्यकर्ता पनि सहभागी हुने बुझिएको छ ।
देशभर धर्मान्तरण र हिन्दूलाई अल्पमतमा पारेर आक्रमण गर्ने योजनाहरु बुनिएपछि हिन्दूवादी संगठित बन्दै गएका छन् । राजनीतिक र गैरराजनीतिक क्षेत्रमा रहेका हिन्दूवादीहरु संगठित हुँदै गएका हुन् । विकसित घटनाले कम्युनिस्ट र हिन्दूविरोधी शक्ति सतर्क भएका छन् । हिन्दूवादीहरु नेपाली काँग्रेसभित्र प्रभावशाली बनेका छन् । महासमिति बैठकमा हिन्दू राष्ट्र अभियानमा लागेकाहरु बहुमत नजिक पुगेका छन् । यो घटनालाई लिएर माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले समेत औंला उठाएका छन् । प्रचण्डले आफूलाई सिधै हिन्दूविरोधीका रुपमा उभ्याएका छन् । काँग्रेसभित्र उठेको हिन्दू राष्ट्र अभियानले देशलाई हिन्दूराष्ट्र बनाउने उद्देश्य भने राखेको छैन । यो काँग्रेसको रणनीतिक चार्तुयता सिवाय केही होइन । काँग्रेसको नेतृत्वपंक्तिमा धर्मनीरपेक्ष पक्षधर हालीमुहाली छन् । उनीहरुको बोलवाला भएपछि काँग्रेस कुनै हालतमा हिन्दूराष्ट्रको पक्षमा रहन सक्दैन । अर्कोतर्फ, काँग्रेस हिन्दुत्वको मुद्दा बोक्ने दल कदापि बन्न सक्दैन ।
राप्रपाले हिन्दूराष्ट्र भनेपनि हिन्दुत्व भनेको छैन । उसको मूल उद्देश्य राजतन्त्र स्थापना नै हो । न त राप्रपाका नेताहरु मुद्दाप्रति इमान्दार भएर संघर्ष गर्ने साहस नै राख्छन् । अधिकांश नेताहरु विलासी छन् । उनीहरुबाट देशमा हिन्दूराष्ट्र स्थापनाको अपेक्षा गर्न सकिदैन । देशले सशक्त हिन्दुत्वको मुद्दा बोकेको दलको आवश्यकता महशुश गरेको बुझेरै हजारौं युवाहरु दल निर्माणको तयारीमा लागेका हुन् । हिन्दूराष्ट्रको अभियानलाई रोक्न रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी जन्मिएको छ । यसलाई पनि बुझेर हिन्दुत्वलाई सिद्धान्त मानेर दल बन्न लागेको बुझिएको छ ।