जापानमा मौलाउँदै हुण्डी : गिरोहसँग नेताको कनेक्सन, राज्यले गुमायो करोडौं राजस्व

17.4k Shares

टोकियो, जापान । कामका लागि विदेश गएका नेपालीले अहिले पनि हुण्डीमार्फत् पैसा पठाउने गर्दा राज्यले ठूलो मात्रामा राजस्व गुमाउने गरेको छ। संसारभर अवैध रूपमा हुण्डीमार्फत् रकम पठाउने गिरोहसँग नेपालका राजनीतिक दलका नेताहरूसमेत जोडिने गरेकाले यो धन्दा मौलाउँदो अवस्थामा रहेको सरोकारवालाले बताउँदै आएका छन्।

सन् २००८ देखि जापानमा सिटी मनी एक्सप्रेस नामक रेमिट्यान्स कम्पनी सञ्चालन गर्दै आएका गैरआवासीय नेपाली संघका नेता महेशकुमार श्रेष्ठले जापानबाट अहिले पनि ८० प्रतिशत रकम हुण्डीमार्फत् नेपाल जाने गरेको र त्यसले नेपालको अर्थतन्त्रमा गम्भीर असर परेको बताउनुभयो ।

वैधरूपमा नेपाल भित्रने रेमिट्यान्समध्ये २१ प्रतिशत रकम सिटी मनी एक्सप्रेसमार्फत् नेपाल भित्रने गरेको भए पनि अझै ठूलो रकम हुण्डीमार्फत् नेपाल भित्रिने गरेको श्रेष्ठ बताउनुहुन्छ।

जापानबाट हरेक महिना ५ अर्ब बराबरको रकम नेपाल जाने गरेको उहाँले बताउनुभयो। उहाँका अनुसार रेमिट्यान्सबाट त्यसको २० प्रतिशत रकम मात्रै जाने गरेको छ ।

नेपालमा अहिले प्रतिवर्ष १२ देखि १५ खर्ब रुपियाँ वैध बाटोबाट आउने गरेको भए पनि अवैध बाटो प्रयोग गरेर ९ देखि १० खर्ब नेपाल जाने गरेको आँकलन रेमिट्यान्स व्यवसायीहरूले गर्ने गरेका छन् । हुण्डीमार्फत् नेपाल गएको उक्त रकम नेपालबाट पुनः तेस्रो देश जाने गरेको थाहा हुँदाहँुदै पनि राज्य सञ्चालकहरूले ध्यान नदिँदा नेपालमा सधैं विदेशी मुद्राको अभाव हुने गरेको पनि श्रेष्ठले बताउनुभयो।

लामो समयदेखि जापानमा जापान मनी एक्सप्रेस सञ्चालन गर्दै आएका ओम गुरुङले नेपालको अर्थतन्त्रलाई नकारात्मक असर पार्ने गरी हुण्डीको कारोबार जापानमा मात्र होइन नेपालको श्रम गन्तव्य मुलुकबाट गर्नेहरूले नेपाललाई लुटिरहेको बताउनुभयो।

सन् २०१० देखि जापानबाट वैध रूपमा रेमिट्यान्सको कारोबार गर्दै आएका गुरुङले नेपाल समाचारपत्रसँग कुराकानी गर्दै नेपालको अर्थतन्त्रमा नै गम्भीर असर पार्ने काम हुँदा पनि राज्यले हुण्डी कारोबारीलाई कारबाहीको दायरामा ल्याउन नसक्नु दुःखद पक्ष भएको बताउनुभयो।

उहाँले यस्ता अपराधजन्य काम रोक्नका लागि सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र सम्पत्ति शुद्धीकरण विभागलाई सही ढंगले परिचालन गर्ने हो भने यस्ता गिरोह निरुत्साहित हुने बताउनुभयो ।

सम्बन्धित समाचार