काठमाडौंमा अपराह्न वर्षाको सम्भावना

15.1k Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले विहान प्रदेश १ लगायत पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश १,  वाग्मती तथा गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो प्रदेश १ र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागहरुमा आंशिकदेखी सामान्य बदली रही अन्य स्थानमा आंशिक बदली रहनेछ । प्रदेश १ का लगायत अन्य प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

यस्तै आज राति प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागहरुमा आंशिकदेखी सामान्य बदली रहनेछ । बांकी भू–भागमा  मौसम सामान्यतया सफा रहनेछ जनाएको विभागले प्रदेश १ का केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको बताएको छ ।

मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेकाले आवश्यक सर्तकता अपनाउन विभागले आग्रह गरेको छ ।

यसैबीच, काठमाडौंमा अपराह्नपछि हल्का वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्ग बताउँछन् । उनका अनुसार हिजोको तुलनामा आज काठमाडौंको तापक्रम केही बढ्ने छ ।

“हिजो काठमाडौंको अधिकतम तापक्रम ३०.६ डिग्री सेल्सियस थियो । आज २९–३१ डिग्रीसम्म पुग्ने छ,” मौसमविद् प्रधानाङ्ग भन्छन्, “अब विस्तारै तापक्रम बढ्दै जाने छ । हामी अहिले गर्मी मौसमको मध्यमा छौं । अब विस्तारै तापमा बृद्धि हुँदै जाने छ ।”

हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र भारतको पश्चिम बंगाल तथा यसको आसपास बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ ।

सम्बन्धित समाचार