काठमाडौँ, फागुन १७ गते । नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रमा भ्रष्टाचार, बेथिति, अनियमितता र मनोमानी निर्णय भइरहेको निष्कर्षसहित उच्चस्तरीय छानबिन एवं अनुगमन समितिले अध्ययन प्रतिवेदन बुझाएको छ ।
काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६, जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रको अनियमितताबारे अध्ययन गर्न गठित समितिले बुधबार प्रतिवेदन बुझाएको हो ।
काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाको संयोजकत्वमा गत माघ ८ गते गठित सात सदस्यीय छानबिन समितिले एक महिना अध्ययन गरेर प्रतिवेदन तयार पारेको थियो ।
सहायक प्रजिअ एवं समितिका संयोजक ढुङ्गानाले काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई बुधबार प्रतिवेदन बुझाउनुभएको हो । प्रजिअ बस्नेतले समितिको प्रतिवेदन बुझेको र अध्ययन गरेर समितिले दिएका सुझावलाई तत्काल कार्यान्वयनमा ल्याउने बताउनुभयो।
समितिका संयोजक ढुङ्गानाले अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रमा अनियमितता, अपारदर्शी आर्थिक व्यवहार भइरहेको निष्कर्षसहित प्रतिवेदन बुझाइएको बताउनुभयो । उहाँले सङ्घको व्यापारिक भवनका ७६ वटा सटर भाडामा दिँदा प्रक्रिया पूरा नभएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “सङ्घको कार्यसमितिले निर्णय नगरी मनोमानी ढङ्गले सटरको भाडा थपेको देखियो। आर्थिक ऐन अनुसार टेन्डरको प्रक्रियामा जानुपर्ने हुन्छ । त्यसलाई पूर्ण पालना गर्नु पर्छ भन्ने सुझाव प्रतिवेदनमार्फत दिएका छौँ ।”
उहाँले सङ्घमा कर्मचारीको नियुक्ति र बर्खास्तीमा पनि मनोमानी भएको पुष्टि भएको जानकारी दिनुभयो। उहाँले बौद्धिक अपाङ्गता भएका व्यक्ति र अन्य जटिल शारीरिक समस्या र अपाङ्गता भएका व्यक्तिलाई एकै ठाउँमा राखिएको देखिएकाले अलग अलग राख्नु पर्छ भन्ने निष्कर्ष प्रस्तुत गरिएको बताउनुभयो । आजको गोरखापत्र दैनिकबाट