काठमाडौँ । दलहरूबिच सदन सञ्चालन गर्ने विषयमा सहमति नजुट्दा बागमती प्रदेश सभाको बैठक अझै सुरु हुन सकेको छैन । ३ बजे बस्ने गरी बोलाइए पनि बैठक बस्न नसकेको हो । संसद् सुचारु गर्न आज दुईपटक सर्वदलीय बैठक बसे पनि सहमति जुट्न सकेन । विपक्षी दलहरूले दिएको योजनाहरूमा सोझै बजेट दिने वा पूरक बजेट ल्याउने भन्ने विषयमा आज छलफल भए पनि सहमति हुन नसकेको हो ।
बैठकमा प्रतिपक्ष दलहरू नेकपा एमाले र राप्रपाले पूर्वनिर्धारित सहमतिमा नै अडान राखेको र त्यसलाई कार्यान्वयनको प्रक्रियामा अघि बढाउन माग गरेको उनले बताए । यता सरकारले भने सो सहमति कार्यान्वयनमा आफूलाई समस्या भइरहेकाले फरक ढङ्गबाट अघि बढ्न विपक्षी दलहरूलाई आग्रह गरेका थिए ।
सर्वदलीय बैठकमा सहमति नजुटेपछि यतिबेला सत्तापक्ष र प्रतिपक्षका सांसदहरु छुट्टाछुट्टै छलफलमा जुटेका छन् । मुख्यमन्त्री शालिकराम जम्कट्टेलसहित नेपाली कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकार र एकीकृत समाजवादीका संसदीय नेता कृष्णप्रसाद शर्मा खनाल छलफलमा छन् । त्यस्तै प्रतिपक्षमा रहेका राप्रपा संसदीय दल नेता उद्धव थापा, नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र नेमकिपा संसदीय दलका नेता नेता सुरेन्द्र राज गोसाईंले अर्कोतर्फ छलफल गरिरहेका छन् ।