काठमाडौं । सरकारले आजदेखि खाद्यन्न अभाव भएका नागरिकलाई निःशुल्क ढुवानी सेवा दिने भएको छ । कोरोना संक्रमण रोकथाम गर्न एक साताका लागि खाद्यान्न पसल बन्द गर्ने प्रशासनको निर्णय छ । त्यसैले यो बीचमा कसैलाई खाद्यवस्तु आवश्यक परे घरसम्म निःशुल्क ढुवानी सेवाको व्यवस्था गरिएको जनाइएको छ ।
यसका लागि नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले निःशुल्क खाद्य वस्तु ढुवानीको सेवा दिनेछन् । आवश्यक परेका नागरिकले कम्पनीको वेवसाइटमा गएर अनलाइन र फोनमार्फत खाद्यवस्तु अर्डर गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेका अनुसार आजदेखि अनलाइन र फोनमार्फत घरसम्म खाद्यवस्तु पुर्याउने तयारी गरिएको छ । न्यौपानेका अनुसार आवश्यक नागरिकले कम्तीमा २ हजार रुपैयाँदेखि १५ हजार रुपैयाँसम्मको खाद्य वस्तु अर्डर गर्न पाउँनेछन् । ‘‘आवश्यक नागरिकले अर्डर गरेकै दिन खाद्यवस्तु घरमै पुर्याइनेछ । हामीले कुनै पनि नागरिकलाई अत्यावश्यक खाद्यवस्तु अभाव हुन नदिन यस्तो सुविधा दिएका हौँ । जसमा चामल, दाल, नुन, तेललगायत अत्यावश्यक खाद्य वस्तु अर्डर गर्न सकिनेछ,” न्यौपानेले बाह्रखरीसँग भनिन् ।
काठमाडौं उपत्यकाको चक्रपथभित्र र बाहिर मोटरबाटो पुग्ने ठाउँसम्म खाद्य वस्तु पुर्याइदिने कम्पनीले जनाएको छ ।
कम्पनीको वेबसाइट नेपाल फूड डटकम, जीओभीडटएनपीमार्फत चक्रपथभित्र खाद्यन्न ढुवानी हुनेछ । त्यस्तै सस्तो डिल डटकम र मुकुण्डोमार्फत उपत्यकाभरी निःशुल्क ढुवानी सेवा उपलब्ध गरिएको छ ।
कर्पोरेशनका विभागीय प्रवन्धक बजे्रशकुमार झाका अनुसार निःशुल्क खाद्यन्न ढुवानी गर्न चारओटा भ्यान तयारी अवस्थामा राखिएको छ ।
‘‘हामीले कोरोना महामारीको बेलामा घरमै बस्न अनुरोध गर्दै फोन नम्बर उपलब्ध गराएका छौँ,” झाले भने, ‘‘दैनिक रुपमा आवश्यक पर्ने चामल, पिठो, दाल, चीनी, चिउरा, नुनलगायत सामग्री घरमै पुर्याइनेछ । हामीले उपलब्ध गराएको नम्बरमा फोन गरेर अर्डर टिपाउनु भयो भने उपत्यकाभरी भ्यान पुग्ने ठाउँसम्म आवश्यक खाद्यवस्तु पुर्याइनेछ ।”
कम्पनीका अनुसार गतवर्षको लकडाउनमा पनि यसरी नै निःशुल्क ढुवानी सेवा उपलब्ध गराइएको थियो ।
आजदेखि काठमाडौं उपत्यकाको निषेधाज्ञामा खाद्यान्न पसल बन्द रहनेछन् । तरकारी, फलफूल, ग्यास पलस खोल्न दिइनेछ । निषेधाज्ञा उल्लङ्घन गरेको पाइएमा पाँच लाखसम्म जरिवाना र एक वर्षसम्म कैद सजाय गर्न सकिने प्रशासनको भनाइ छ ।
अत्यावश्यक खाद्यवस्तु चाहिए यी नम्बरमा फोन गर्नुहोस्:
प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्द– ९८५१३२०३१४
नायब महाप्रबन्धक, मणिराज खनाल– ९८५११४२२२२
सूचना अधिकारी शर्मिला सुवेदी– ९८४१३५२८२८
विभागीय प्रमुख, भीमबहादुर थापा– ९८५११३६७८५
प्रादेशिक प्रमुख, थापाथली, ज्ञानु थापा– ९८५११२१७८८
प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ– ९८५१०२२५६४
नायब कार्यकारी अधिकृत कुमार राजभण्डारी– ९८५१०३३३०३
विभागीय प्रमुख सबल रिजाल– ९८५१११३६६०
अधिकृत प्रज्ज्वल प्रधान– ९८४१३३२९९०