काठमाडौं । मुद्दा मिलाइदिन्छु भन्दै ठगी गरेको आरोपमा पटक–पटक पक्राउ परेका रत्नेश्वर प्रसाद शर्मा पुनः रिहा भएका छन् । ललितपुर जिल्ला अदालतका न्यायाधीश पुष्पराज थपलियाको इजलासले उनलाई हिरासतमा राख्न अनुमति नदिएपछि थुनामुक्त भएका हुन् ।
जिल्ला प्रहरी परिसर ललितपुरले १० करोड रुपैयाँ ठगीको जाहेरी परेपछि ५४ वर्षीय शर्मालाई गत बिहीबार लगनखेलबाट पक्राउ गरेको थियो ।
तर हिरासतमा राख्न अनुमति नदिएपछि उनी छुटेका हुन् । शर्माले आफूलाई वकिल भनेर बताउने गर्दछन् । महोत्तरीको लोहरपट्टी नगरपालिका ७ घर भएका शर्मा हाल काठमाडौंको तीनकुनेमा बस्छन् ।यसअघि पनि पटक पटक पक्राउ परिसकेका शर्माविरुद्ध यसपटक भने उनकै साझेदारले जाहेरी दिएका थिए । जाहेरीपछि शर्मा विरुद्ध जिल्ला अदालत ललितपुरले माघ १२ गते पक्राउ पुर्जी जारी गरेको थियो । यसअघि पनि उनी १० लाख १६ हजार रुपैयाँ ठगी गरेको आरोप पक्राउ परेका थिए । बैंकिङ कसुरको आरोपीलाई थुनामुक्त गरिदिन्छु भन्दै ठगी गरेको आरोपमा उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको थियो । सो मुद्दामा उनी १५ दिन हिरासतमा बसेर छुटेकोमा पुनः पक्राउ परेका थिए । यसपटक पनि प्रहरीले हाजिरी जमानीमा खोजेको बखत उपस्थित हुने शर्तमा उनी रिहा भएका हुन्