परासी । नेपाल प्रहरीको नेतृत्व कमजोर भएर हो कि प्रधान कार्यालयदेखि प्रदेश कार्यालयसम्ममा घुषखोरी चलेर हो अहिले छाडा तन्त्र व्यापक भएको देखिएको छ । बदनाम र धेरै उजुरीका चाङ भएपछि कम्तीमा पनि धिरज प्रतापको कार्यकालमा होस् वा शैलेश थापा क्षेत्रीको पालामा नै किन नहोस् प्रहरी मुख्यालयले छानबिन गर्ने र दोषी देखिएपछि कारबाही गरी निलम्बन गर्ने हो वा प्रदेश कटान गरेर सरूवा गर्ने गरिन्थ्यो । तर अहिले न त छानबिन हुन्छ न त कारबाही र सरूवा नै । त्यसैले पनि प्रहरीमा दण्डहीनता बढेको र मनपरीतन्त्र चलेको देखिन्छ ।
यस्ता सयौं घटनाहरू मध्ये एउटा घटना पश्चिम नवलपरासीको जिल्ला प्रहरी र लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा पनि देखिएको छ । त्यसमध्येको एउटा प्रसंग हो सहायक हवल्दार हैदर अलिको । पश्चिम नवलपरासीमा धेरै लामो समयदेखि घुमुवा प्रहरीको रूपमा कार्यरत थिए हैदर अलि । उनीले तस्करहरूसँग सेटिङ गरेर तस्करी गराउने गरेको जस्ता धेरै उजुरी प्रहरी मुख्यालयमा परेपछि उनको सरूवा सुर्खेत भयो । तर उनी दरबन्दीमा गएका थिएनन् । हालका एसपी काजी कुमार आचार्यले धेरै उजुरी र गुनासो आएपछि सहायक हवल्दार हैदरलाई दरबन्दीमा पठाए । तर अचम्मको कुरा उनी दरबन्दीमा केही महिना मात्रै कार्यरत भएका के थिए फेरि प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखामा रहेको भ्रष्ट गिरोहले हैदरलाई फेरि लुम्बिनी प्रदेशको पाल्पा जिल्ला प्रहरीमा सरूवा गरिदियो । यो हैदरको योजना मुताबिक नै भएको थियो । तर हैदर फेरि हल्ला खल्ला चल्छ भनेर पाल्पा आएनन् । जब केही दिन अगाडि प्रदेश प्रमुख डिआइजीहरूको सरूवा निस्कियो । सरूवा निस्केपछि पुरानो मिति राखेर लुम्बिनी प्रदेश प्रहरी कार्यालयको भ्रष्ट गिरोहले रकमको लेनदेनको आधारमा नै १५ जना सिपाही, हवल्दारको काज निकाल्ने काम गरे । यही काजमा सहायक हवल्दार हैदर अलिको पनि पश्चिम नवलपरासी काज गरियो । बर्षाै बर्ष पश्चिम नवलपरासीको घुमुवा भएर असुली धन्दा मच्चाउने बदनाम भएका हैदर अलि फेरि पश्चिम नवलपरासी नै आएका छन् । पश्चिम नवलपरासी आएसंगै उनी फेरि घुमुवा बस्नको लागि दौडधुपमा लागेको जिल्ला प्रहरी स्रोत बताउँछ । तर एसपी काजी कुमार आचार्य भने घुमुवा भएर बदनाम भएपछि आंफैले रमाना दिएको र आफ्नो कार्यकाल पनि सकिन लागेको कारण उनलाई घुमुवा राख्ने पक्षमा नरहेको स्रोत बताउँछ । उता प्रदेश प्रहरी प्रमुख कुबेर कडायतले पुरानो मिति राखेर निकालेको १५ जनाको काज रद्द गर्ने तयारी गरेको समेत थाहा भएको छ ।