कार्यालय प्रमुख नभएको मौका छोपी ट्राफिकका बरिष्ठ सई न्यौपानेको असुली धन्दा, सवारी चालक आक्रोशित

22.9k Shares

ललितपुर । ‘सानालाई ऐन, ठूलालाई चयन’ भन्ने उक्तीलाई चरितार्थ गर्दै ट्राफिक प्रहरी परिसर सातदोबाटोको निमित्त प्रमुख मनोज न्यौपानेको कर्तुतहरु छताछुल्ल भएका छन् ।
ललितपुर जिल्लाको सातदोबाटो चोकैमा रहेको ट्राफिक प्रहरी परिसरका ट्राफिक प्रहरीले सामान्य भन्दा सामान्य गल्ती गर्दा पनि सवारी चालकलाई अनावश्यक दुःख दिई चिट काट्नुको साथै हपार्नुका साथै अपाच्य शब्द प्रयोग गर्ने गरेको माघ ८ गते भएको एउटा घटनाले देखाएको छ । त्यो त सामान्य नै हो । हरेक दिन सवारी चालकलाई अनावश्यक दुःख दिई एउटा ट्राफिकले जाने आदेश दिने र अर्कोले किन आइस् भन्दै सवारी चालकसँग कागजात मागी चिट काट्ने काम गर्दै आइरहेको प्रत्येक दिनजसो देख्न सकिन्छ ।
कुनै पहुँच नभएका र भनसुन गर्न नसक्ने सवारी चालकहरुलाई कागजपत्र माग्नासाथ चिट काट्ने सातदोबाटो ट्राफिक प्रहरीले माघ ८ गते १ः४५ बजे ट्राफिक कार्यालयकै नाकै मुनी प्रहरीका उच्च अधिकारीले सवारी टर्न गर्न नमिल्ने ठाउँमा टर्न गर्दा उनलाई उल्टै स्यालुट ठोकेर पठाइन्छ, के उनलाई ट्राफिक नियम लाग्दैन ? यसको सीसीटीभी फुटेज हेर्दा थाहा हुनुका साथै खोजतलाससँग यसको प्रमाण छ ।
‘प्रहरी हाम्रो साथी र मुश्कानसहित को सेवा’ भन्ने नारा बोकेको नेपाल प्रहरी मातहतका ट्राफिक प्रहरीले भने त्यसको ठ्याक्कै उल्टो कार्य गरिरहेको जो कसैले पनि सातदोबाटो प्रहरीसँग कुराकानी गर्दा थाहा हुन्छ ।
सातदोबाटो चोक भएर गुड्ने मालबाहक ट्रक, ट्रिपर, पिकअपसँग बरिष्ठ सई मनोज न्यौपानेले कार्यालय प्रमुख ट्राफिक प्रहरी निरीक्षक शालिग्राम तिमल्सिना बिदा बसेको मौका छोपी ट्राफिक प्रहरीहरुलाई खुल्लम खुल्ला असुली गर्न निर्देशन नै दिएको सातदोबाटो ट्राफिक प्रहरीका एक जवानले नाम नछाप्ने सर्तमा बताएका छन् । कार्यालय प्रमुख तिमल्सिना आगामी बुधबार कार्यालयमा हाजिर हुने र त्यो भन्दा अगाडि नै जति सक्दो असुली धन्दा चलाउन मातहतका ट्राफिक प्रहरीहरुलाई निर्देशनसमेत दिएको ट्राफिक प्रहरीहरुले नै बताउने गरेका छन् ।
गत शनिबार सातदोबाटो चोक भएर बारा जिल्ला जानको लागि रुट परमिट लिन कलंकी जाने तयारीमा रहेको आरएनएसीबाट कपन चल्ने माइक्रोको ड्राइभरलाई रोकी रु. ३ सय रुपैयाँ नगदै तराई मुलका एक हबल्दारले लिएको समेत सातदोबाटोको स्थानीयले खोजतलासलाई जानकारी गराएका छन् ।
महिनावारी बुझाउँदै आएका मालबाहाक सवारी साधनले एक दुई दिन ढिला भयो भने मालबाहक सवारी साधनलाई चेकजाँचको नाममा अनावश्यक दुःख दिने गरेको पिकअपका चालक लामा थरका एक व्यक्तिले खोजतलाससँग गुनासो पोखेका छन् ।
सातदोबाटो ट्राफिक प्रहरीले सामान्य गल्ती वा गल्ती नै नभएको अवस्थामा पनि सवारी चालकसँग कागजात मगाई चिट काट्ने र सवारी चालकलाई एकदिनको अफिस नै छाडेर अनावश्यक क्लास लिन वाध्य पार्दै आइरहेको समेत सवारी चालकहरुले क्लास लिन आएको बेला एकअर्कासँग भलाकुसारी गरेको जो कसैले पनि प्रश्ट देख्न र सुन्न सकिन्छ । सोर्सफोर्स र भनसुनका साथै ट्राफिक प्रहरीलाई आर्थिक नजराना बुझाएकै भरमा क्लास नै लिनुनपर्ने घरमै लाइसेन्स आउने कार्य पनि यिनै ट्राफिकहरुले गर्दै आइरहेको प्रमाण खोजतलाससँग सुरक्षित छ । 
यस्तै विषयलाई लिएर सातदोबाटो ट्राफिक प्रहरी परिसरका निमित्त प्रमुख मनोज न्यौपानेसँग बुझ्न खोज्दा ठाडो र रुखो शब्दमा जवाफ दिँदै तपाईंहरुले जे गर्न मन लाग्छ त्यही गर्नुस् भन्दै म माथिसम्म खबर गर्छु भन्दै तर्के । वरिष्ठ सई न्यौपानेले प्रहरीको मुस्कान सहितको सेवा र प्रहरी हाम्रो साथी भन्ने नीतिलाई समेत लत्याई उल्टै पत्रकारको जिज्ञासालाई धम्की जस्ता भाषा प्रयोग गरेका थिए ।
कार्यालय प्रमुख नभएको मौका छोपी यसरी दिनदाहाडै खुल्लम खुल्ला रुपमा सवारी चालकहरुलाई दुःख दिई असुली धन्दा चलाइरहेका वरिष्ठ सई न्यौपानेलाई सम्बन्धित निकायले कारबाहीको दायरामा ल्याउँछ कि ल्याउँदैन वा उनलाई झन् मनोबल बढाउने काम गर्छ त्यो हेर्न बाँकी छ । 

 

सम्बन्धित समाचार