डा. विशद दाहालमाथिको निलम्वन तत्काल फिर्ता गर्न शिक्षामन्त्रीको निर्देशन

17.5k Shares

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले काठमाडौं मेडिकल कलेजले आवासिय चिकित्सक डा. विशद दाहालमाथि गरेको निलम्वन तत्काल फिर्ता गर्न निर्देशन दिएका छन् । मन्त्री राईले आवासीय चिकित्सक डा. विशद दाहालमाथि काठमाडौं मेडिकल कलेजले गरेको निलम्वन तत्काल फिर्ता गर्न काठमाडौं विश्वविद्यालयलाई निर्देशन दिएका हुन्।

मन्त्री राईले काठमाडौं विश्वविद्यालयको सहकुलपतिको हैसियतमा डा. दाहालमाथिको निलम्वन फिर्ता गर्न विश्वविद्यालयलाई निर्देशन दिएका हुन्।  प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्रालयका सचिव सुरेश अधिकारीले मंगलवार मन्त्री राईले काठमाडौं विश्वविद्यालय ऐन २०४८ को दफा १३(क) उपदफा(३) बमोजिम निर्देशन विश्वविद्यालयलाई निर्देशन दिनुभएको जानकारी दिए। मन्त्री राईले काठमाडौं विश्वविद्यालयबाट हेल्थ क्याम्प र फिल्ड भिजिट सम्बन्धी कार्यविधि तर्जुमा भएपछि मात्र विद्यार्थीहरुलाई स्वास्थ्य शिविरमा पठाउन पनि निर्देशन दिनुभएको उनले बताए।

सचिव अधिकारीले मन्त्री राईले दिएको निर्देशनको व्यहोरा जानकारी दिदैँ भने – ‘ … चिकित्सा शिक्षा आयोगबाट उल्लेखित नीति र सुधारका मापदण्ड र काठमाडौं विश्वविद्यालयबाट हेल्थ क्याम्प र फिल्ड भिजिट सम्बन्धी कार्यविधि तर्जुमा भएपछि मात्र स्वास्थ्य शिविरमा विद्यार्थी पठाउने कार्य गर्न, गराउनु हुन । निलम्बित विद्यार्थी डा. विशद दाहालको निलम्वन तत्काल फिर्ता गरी कलेजमा स्वस्थ शैक्षिक वातावरण तयार गर्न गराउन काठमाडौं विश्वविद्यालय ऐन २०४८ को दफा १३(क) उपदफा(३) बमोजिम निर्देशन दिएको छु ।’मन्त्री राईले काठमाडौं विश्वविद्यालयबाट हुने निर्देशनलाई पालना गरी मन्त्रालयलाई जानकारी गराउन भन्दै काठमाडौं मेडिकल कलेजलाई बोधार्थ समेत दिएका छन्।

सम्बन्धित समाचार