काठमाडौं– हालै भएको विश्वकपको विजेता अष्ट्रेलियाका कप्तान प्याट कमिन्सलाई सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल)मा इतिहासकै सर्वाधिक मूल्य २० करोड ५० लाख भारु( झन्डै ३३ करोड) नेपाली रुपैयाँमा किनेको छ।
तीव्र गतिका बलर प्याट कमिन्सले न्यूनतम २ करोड भारु राखेका थिए। उनलाई किन्न चेन्नई र मुम्बईबीच प्रतिस्पर्धा भएको थियो। ५ करोडसम्म बेंगलोरले पनि मूल्य लगाएको थियो। चेन्नईले ६ करोड ८० लाखमा पुगेर प्याट कमिन्सलाई छाडेको थियो।
तर हैदराबाद त्यसपछि अक्सनमा आएको थियो। हैदराबाद र बेंगलोरबीच कडा प्रतिस्पर्धा भएको थियो। तर बेंगलोरले २० करोड २५ लाखपछि मूल्य लगाएन। हैदराबादले २० करोड ५० लाख रुपैयाँमा किनेको हो।
यो आईपीएल अक्सनमा पाएको सर्वाधिक मूल्य हो। यसअघि गतवर्ष पन्जाब किंग्सले साम करनलाई १८ करोड ५० लाख भारुमा किनेको थियो। त्यस्तै गतवर्ष क्यामरन ग्रीनलाई मुम्बईले गतवर्ष १७ करोड ५० लाख भारुमा किनेको थियो।