काठमाडौं । मगलबार सेनापति प्रभुराम शर्मा अलि फरक ढंगले प्रस्तुत भए । उनले सैनिक अधिकृतहरुलाई चेतावनीको भाषामा मर्यादा नै नाघेर बढुवाका लागि एक अर्काविरुद्ध नलाग्न चेतावनी दिए । शान्त स्वभावका शर्माको प्रस्तुती फरक भएपछि सैनिक अधिकुतहरु नै मुखामुख गर्न पुगेका थिए । उनको अभिव्यक्ति वरिष्ठतम जर्नेलहरुप्रति थियो जो रथीको प्रतिष्पर्धामा छन् ।
शर्माले रथी बन्न अस्वस्थ र अमर्यादित प्रतिष्पर्धा भएको खुलासा समेत गरे । जंगी अड्डामा सेनापति गर्जिएर सेनाभित्र कसैलाई पनि अमर्यादित र अस्वस्थ ढंगले अर्कालाई दोषी देखाई आफू अगाडि बढ्ने दुर्भावना नराख्न चेतावनी दिए । नेपाली सेनामा रथीका लागि प्रतिष्पर्धी उपरथीहरुबीच नागरिकता र शैक्षिक प्रमाणपत्रको विषय उठाएर एकले अर्कोको बढुवा रोक्ने गतिविधि चलिरहँदा सेनापति शर्माको पछिल्लो भनाई आएको हो ।
शर्माले सेनाभित्र प्रमाणपत्र, नागरिकता जस्ता कागजातको विषय आएकोमा सम्बद्ध निकायहरुबाट यकीन गरेर मात्र जंगी अड्डाले कारबाही अगाडि बढाउने गरेको दाबी गरे । तर, रथी बढुवाका लागि सिफारिश भएका ताराध्वज पाण्डेको नागरिकतामा जन्ममिति सच्याइएको तथ्य फेला परेको थियो । त्यसपछि उनी राजीनामा दिन वाध्य भए । पछिल्लोपटक रथी बढुवाका लागि सिफारिश भएका अशोक सिग्देलको पनि नागरिकताको प्रमाणपत्र विवादमा परेको छ । उनीमाथि अख्तियारले छानबिन गर्न रक्षा मन्त्रालयलाई पत्राचार गरिसकेको छ । सेनापतिले पाण्डेको राजीनामा र सिग्देलको नागरिकता छानबिनको विषयलाई सेनाभित्र एकले अर्कोविरुद्ध अमर्यादित र अस्वस्थ क्रियाकलापको संकेत गर्नुलाई अर्थपूर्ण मानिएको छ । उनले रिक्त रथीको बढुवा प्रक्रिया सुरु भएसँगै प्रतिष्पर्धीहरुको उमेर, शैक्षिक योग्यता आदीलाई विषयवस्तु बनाई अतिरञ्जित तबरले प्रचारबाजी भएको समेत बताए ।
यता, सेनामा नागरिकता र शैक्षिक प्रमाणपत्र प्रकरणले सेनापति बन्ने लाइनमा रहेका जर्नेलहरु धमाधम संकटमा परिरहेका छन् । दुई तारे जर्नेल ताराध्वज पाण्डेले त राजीनामा नै दिनुपरेको छ । उनको दुईथरी जन्ममिति भेटिएपछि रथी बढुवाको सिफारिश मात्र रोकिएन राजीनामा दिनुपर्ने वाध्यता आइलाग्यो । पाण्डे पछि वरियतामा रहेका अशोक सिग्देलको जँगी अड्डाले बढुवा सिफारिश गरेको छ । तर, उनको नागरिकता र शैक्षिक प्रमाणपत्रमा दुईथरी जन्ममिति भेटिएको छ । शैक्षिक प्रमाणपत्रमा १९ चैत्र २०२१ र नागरिकतामा १९ माघ २०२३ राखिएको छ । उनले उमेर घटाएर सेनामा प्रवेश गरेको खुलेको छ ।
रुपन्देही जिल्ला प्रशासन कार्यालयबाट ९ असोज २०४० मा नागरिकताको प्रमाणपत्र लिएका सिग्देलको उमेर १९ वर्ष र ढड्डामा २०२१ साल भेटिएको छ । उनले किर्ते गरी जाजरकोटबाट नागरिकताको प्रतिलिपि लिएको खुलेको छ । ८ जेठ २०५८ मा उनले जाजरकोटबाट नागरिकताको प्रतिलिपि लिएर उमेर सच्याएका छन् । सिग्देलको नागरिकतका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजूरी परेकोमा छानबिन गर्न पत्र रक्षा मन्त्रालयमा पुगेको छ । जसका कारण उनको बढुवा फाइल बढ्ने सम्भावना कमजोर भएको छ । सिग्देलको बढुवा भइहाले पनि नागरिकता छानबिन हुने र राजीनामा दिन वाध्य हुने अवस्था बनेको छ । सेनाभित्र पाण्डेको नागरिकता विवाद उचाल्न पनि सिग्देलले भूमिका खेलेको चर्चा चलिरहेको छ ।