जनकपुरधाम । नेपाल प्रहरीमा जे गरे पनि हुन्छ, नीतिनियम छैन, लाग्दैन र हाकिमको आशिर्वाद र छत्रछायाँ भएपछि कुनै कारवाही हुँदैन भन्ने कुरा एउटा घटनाले थप पुष्टि गरेको छ ।
धनुषामा लामो समय घुमुवा भएर रकम असुलीमा ज्यादै बदनाम भएपछि हालका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुंँवरले नै धनुषाबाट ताप्लेजुङ काज पठाएर पछि सरूवा गर्दा दरबन्दी नै त्यही परेका सहायक हवल्दार जितेन्द्र यादव अहिले पनि महिनाको १५ दिन भन्दा बढी जनकपुर बसेर उठान्तीको धन्दामा नै सक्रिय रहेको भेटिएको छ ।
यसअघि पनि कहिले बिदा त कहिले आउट लिँदै जनकपुर आएर रकम उठाएको धेरै उजुरी र गुनासो आएपछि छानबिन भएको र दोषी देखिएपछि उनलाई नसियत दिएको थियो । नसियत पाएको केही दिन जनकपुर नआएपनि उनी अहिले फेरि महिनाको १५ दिन जनकपुर बसेर त्यही धन्दामा लागेका छन् । हुँदाहुँदै अहिले त डिआइजी जनक भट्टराईको घुमुवा हुंँ भन्दै व्यापारीदेखि तस्करहरूलाई फोन गर्ने र भेट्ने गरेको समेत सार्वजनिक भएको छ ।
उनले अब हुन लागेको सहायक हवल्दारको सरूवामा मेरो जनकपुर नै दरबन्दी हुन्छ, यसको लागि माथि रकम बुझाउनुपर्छ भन्दै व्यापारीहरूलाई भन्ने गरेको पनि यहांँमा व्यवसायीहरू बताउँछन् । मलाई आइजिपी सा’पको सचिवालयमा कार्यरत एसएसपी दान बहादुर कार्की र कर्मचारी प्रशासन शाखामा गोप्यमा कार्यरत प्रहरी निरीक्षक दिपक थापाले जनकपुर ल्याउने वचन दिनुभएको छ भन्दै उनीहरूको नाम बेच्ने काम पनि सहायक हवल्दार जितेन्द्र यादवले गर्दै आइरहेका छन् । बदनाम भएर सरूवा गरिएकालाई ताप्लेजुङका डिएसपीले महिनाको १५ दिन किन बिदा छोड्छन भन्ने प्रश्न पनि उठेको छ ।