काठमाडौं । देशमा धर्मनीरपेक्षता ढिलोचाँडो हट्ने भएको छ । हिन्दूराष्ट्र पक्षधर शक्ति बलियो हुँदै गएपछि मुख्य दलका नेताहरु यसबारे लचिलो बन्न थालेका छन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले यसै हप्ता धर्मनीरपेक्षता हटाउनेबारे विचार गर्न सकिने सन्देश दिइसकेका छन् । तर, उनले राजसंस्थामा सम्झौता नहुने स्पष्ट पारेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि भित्र—भित्र हिन्दूराष्ट्रको पक्षमा लचिलो देखाइरहेका छन् । माओवादीभित्र यो मुद्याले प्रवेश पाइसकेको छ । काँग्रेस र माओवादी नै हिन्दूराष्ट्रका पक्षमा लचिलो बन्दै गएपछि यो ढिलोचाँडो सफल हुने देखिइसकेको छ ।
नेकपा एमाले र नेकपा एस भने धर्मनीरपेक्षका पक्षमा देखिन्छ । विशेषगरी एमाले अध्यक्ष केपी शर्मा ओली र एसका अध्यक्ष माधवकुमार नेपाल धर्मनीरपेक्षका पक्षधरका रुपमा खरो देखिएका छन् । तर, एमाले र एस विस्तारै कमजोर बन्दै गएका छन् । रोचक त यो छ कि सीके राउत र रेशम चौधरी हिन्दूराष्ट्रका पक्षमा देखिएका छन् । महन्थ ठाकुरको त पोशाक नै गेहरु रङ्गको भइसकेको छ । उपेन्द्र यादव भने धर्मनीरपेक्षका पक्षधर भएका छन् । डा. बाबुराम भट्टराई त हिन्दूको नाम नै सुन्न चाहँदैनन् । यसरी नेताहरुबीच नै धर्मनीरपेक्षका विषयमा ध्रुवीकरण चलेको छ ।
हिन्दूराष्ट्रलाई रोक्न नसकिने निष्कर्षमा नेताहरु पुगिसकेका छन् । विशेषगरी विश्वकै हिन्दू संघसंस्थाको सक्रियता नेपालमा बढ्दै गएको छ । नेपालमा पनि हिन्दूहरु एक हुँदै गएका छन् । २०८४ मा चुनाव भएमा हिन्दूहरु एक हुने र हिन्दूविरोधी शक्तिलाई बडार्ने सम्मको अवस्था देखेर नेताहरु सजग भइसकेका छन् । यसकारण पनि प्रचण्डले आफ्नो दलभित्र हिन्दूराष्ट्रको मुद्यालाई प्रवेश दिए । भारत भ्रमणका बखत महाकालेश्वर दर्शन गरी देशभित्र पशुपतिनाथको दर्शन पहिलोपटक गरे । चीन भ्रमणका बेलामा मानसरोवरको यात्रा गरे । प्रचण्डले यसबाट पनि महत्वपूर्ण सन्देश दिएका छन् । कुनैपनि बेला धर्मनीरपेक्षता हटाउन प्रचण्ड तयार हुने सम्मको परिस्थिति विकास हुँदै गएको छ ।
रणनीतिक चार्तुयता भएका प्रचण्डले पार्टी बनाउने र बिघटन गर्ने गर्दै आए । उनले कतिपय मुद्यामा आफूलाई अडिग राखेका छैनन् । यु टर्न समेत भएका छन् । हिन्दूराष्ट्रको मुद्यामा पनि उनी कुनैपनि बेला यु टर्न हुनसक्छन् । संगठन कमजोर हुँदै गएकाले प्रचण्डले यही मुद्याबाट पुनः शक्ति आर्जन गरेमा आश्चर्य नमाने हुन्छ । माओवादीको भारतको सत्तारुढ भारतीय जनता पार्टीसँग सुमधुर सम्बन्ध त्यसै विकास भएको होइन । त्यतिबेला भाजपाको निम्तोमा भारत भ्रमणमा माओवादीको तर्फबाट नेतृत्व गरेकी पम्फा भुसालले अचानक हिन्दूराष्ट्रको मुद्या उठाइन् । यसअघि रामकुमार शर्माले यो मुद्या उठाएका थिए ।
हिन्दूराष्ट्रका पक्षमा नेपाली काँग्रेसभित्र सबैभन्दा चर्को आवाज उठेको छ । काँग्रेस केन्द्रीय सदस्यहरु एन पी साउद, मदनबहादुर अमात्य, शंकर भण्डारी मात्र नभई उपसभापतिको चुनाव हारेका चन्द्र भण्डारी पनि हिन्दूराष्ट्रको पक्षमा खुलेका छन् । काँग्रेसभित्र यो मुद्याको पक्षमा ठूलै संख्या रहेको छ । डा. शेखर कोइराला पनि बेला बेलामा यो मुद्या उठाउँछन् । डा. सशांक कोइराला त खुलेरै हिन्दूराष्ट्रको पक्षमा बोल्नेमा पर्छन् । यसले काँग्रेस निकै दबाबमा छ भन्ने देखाउँछ । तर, निर्णय यति छिटो भने हुने देखिदैन ।
मुख्य दलहरु हिन्दूराष्ट्र संविधानमै उल्लेख गर्न तयार नभए नयाँ शक्ति उदाउने निश्चित जस्तै छ । देशभर बढेको हिन्दुत्व विचारधारा कुनैपनि बेला राजनीतिक शक्ति स्थापित गर्ने दिशामा समेत उन्मुख हुनसक्छ । विषेगरी हिन्दू स्वयंसेवक संघ देशव्यापी संगठनका कारण मजबुत भइसकेको छ । संघबाट प्रशिक्षितहरुले कुनैपनि बेला राजनीतिक दल निर्माण गर्न सक्छन् । त्यतिबेला दलहरुलाई उक्त शक्तिको सामना गर्न कठिन हुनसक्छ । संघ यति शक्तिशाली भइसकेको छ कि उसको दलहरुको भन्दा बढी आफ्नो भवनहरु छ । संघ विचारका कार्यकर्ता वैचारिक रुपमा मजबुत पनि छन् । विगतमा भारतमा राष्ट्रिय स्वयंसेवक संघबाट प्रशिक्षितहरु भारतीय जनता पार्टीमा आवद्ध भएका थिए । जहाँ अटलविहारी वाजपेयी र नरेन्द्र मोदी जस्ता नेता जन्मिए । नेपालमा पनि कुनैपनि बेला देशभक्त र वैचारिक रुपमा सशक्त नेताको उदय हुनसक्छ । यो सम्भावना देखेर पनि नेताहरु हिन्दूराष्ट्रप्रति लचिलो बन्न थालेका छन् ।
हिन्दूराष्ट्र भएपनि राजसंस्था नमान्ने पक्षधर उत्तिकै बलियो देखिन्छ । पछिल्लो समय वीरेन्द्र र ज्ञानेन्द्रले हिन्दुत्व विचारलाई नै कमजोर पार्न खोजेको बुझाई हिन्दुत्व विचार बोकेकाहरुमा छ । हिन्दू धर्मलाई क्षति पु¥याउन कार्य गरेर विश्वका एक अर्बभन्दा बढी हिन्दूले विष्णुको अवतार मान्दा पनि आफ्नै धर्मलाई धक्का दिएको निष्कर्षमा उनीहरु पुगेका छन् । हिन्दूराष्ट्र आउने राजा नआउने भेउ पाएरै राजावादीहरु सक्रिय भएको बुझिएको छ । उनीहरु हिन्दूराष्ट्र भन्दा पनि राजसंस्थाको बढी वकालतमा लागेका छन् । हिन्दूराष्ट्रसहितको राजसंस्था भनिरहेका छन् । रोचक त यो छ कि हिन्दूराष्ट्रको मुद्यालाई कमजोर पार्न पनि राजसंस्थाको मुद्या चर्काउनेहरु देखापरेका छन् । यसले पनि समस्या ल्याइरहेको बुझाई कतिपयको छ । राजावादीहरु सेरेमोनियल राजसंस्था भन्दा पनि सक्रिय राजसंस्था भनिरहेका छन् । यो मागले पनि राजा आउने सम्भावनालाई झन् कमजोर बनाउँदै लगेको छ । देशमा हिन्दूराष्ट्र आउने तर राजा नआउने परिस्थिति विकास भएको छ ।
रवि लामिछानेलाई भाग
सञ्चारकर्मी हुँदा रवि लामिछानेले ठूला बार्गेनिङ गरेको विषय बजारभर छरपष्ट छ । उनी सानोमा आँखा नलाउने ठूलोमा भने आँखा लाइहाल्ने स्वभावका छन् । रविले मौकामा चौका हानेर २०७९ को चुनावमा आफूलाई चौंथो शक्तिका रुपमा संसदमा उभ्याउन सके । तर, सामथ्र्यका हिसाबले भने उनी जनमतका सीके राउत र नागरिक उन्मुक्तिका रेशम चौधरी भन्दा कमजोर छन् । तैपनि, विभिन्न चाल चल्दै भाग खोज्न छाडेका छैनन् ।
लामिछानेले विभिन्न नियुक्तिहरुमा आफ्नो भाग खोज्न थालेका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटी सिधै आफ्नो भाग खोज्न थालेको बुझिएको छ । रविले न्यायाधीश नियुक्तिको सिफारिशमा पनि आफ्नो भाग खोजे र सफलता पनि हासिल गरे । सर्वोच्चमा विजयप्रसाद मिश्र र डि.एन. पराजुलीको सुनिश्चित भइसकेको लिष्टमा सुनिल पोखरेलले बाजी मार्नुमा रवि लामिछानेको पनि भूमिका छ । सुनिल रविसँग निकट रहँदै आएका थिए । उनलाई कुनै हालतमा न्यायाधीश बनाइछाड्न दबाब नै बढाए ।
२९ भदौ २९ को बिहान ७ बजेनै अचानक रवि लामिछाने प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । भोलिपल्ट अमेरिका र चीनको भ्रमणमा निस्कने प्रधानमन्त्रीसँग चिनीया प्रतिनिधिमण्डलको भेटको समय तय भएपनि रविको अचानक आगमनले प्रधानमन्त्री प्रचण्ड अचम्मित भए तर नकार्न सकेनन् । उनी आफ्नो सहयोगको जरूरत सम्झाउँदै सुनिल पोखरेललाई सर्वोच्चको न्यायाधीश बनाउन प्रधानमन्त्रीसमक्ष दबाब दिएर गरेर ठाडै काठमाडौँ बाहिर हान्निएका थिए । लामो समय काँग्रेसनिकट रहेका पोखरेललाई रविको दबाबले पनि काम गर्यो । उनले सर्वोच्चमा न्यायाधीश बन्ने मार्ग खोल्ने सफलता हासिल गरे ।
एसडी मुनी गणतन्त्र जाने चिन्ता
नेपालमा गणतन्त्र ल्याउन भारतका कतिपय शक्तिशाली व्यक्तिहरुको पनि भूमिका रहेको थियो । उनीहरु नेपाल ओहोरदोहोर गरेर गणतन्त्रको पक्षमा महोल बनाउँथे । यसरी सक्रियता देखाउनेमा कम्युनिस्ट नेताहरु सीताराम यचुरी देखि भारतीय राष्ट्रिय कँग्रेसका दिवंगत नेता डा. डीपी त्रिपाठी समेत थिए । भारतका वामपन्थी धारका प्राध्यापक एस डी मुनीले नेपालमा गणतन्त्रको पक्षमा खूबै लागे । उनी अझैपनि प्रचण्ड र बाबुरामसँग नजिक छन् । दुवैले मुनीले भनेको मान्ने गरेको चर्चा छ । यसकारण पनि मुनीलाई दुवै नेताको चिन्ता छ । प्रचण्ड र बाबुरामको ट्युनिङ मिल्ने बुझाई मुनीको छ । दुवैलाई मिलाउन उनी लागिपरेका छन् । गणतन्त्र धरापमा परेकाले दुवै मिल्नुपर्ने राय मुनीको रहेको बुझिएको छ ।
मुनी पछिल्लो समय नेपाल मामलामा सक्रिय भएका छन् । उनले गणतन्त्रारे हालै ट्वीट गरेका छन् । उनले नेपालमा गणतन्त्रका लागि युवाहरुले संघर्ष गरेको नभुलेकोमा आफू ढुक्क भएको उल्लेख गरेका छन् । मुनीले ३० वर्ष र त्यसभन्दा माथि उमेरकाले राजतन्त्र र शाही परिवारका सदस्यहरुको भ्रष्टाचारविरुद्ध काठमाडौंको सडक र नेपालका विभिन्न भागमा भित्तामा लेखेको नबिर्सेकोमा आफू निश्चिन्त भएको भनेका छन् । एसडी मुनी नेपालमा गणतन्त्र ल्याउन सहयोगी भूमिका निभाउने मध्येका हुन् । उनी नेपाल मामलाका जानकार पनि हुन् । पछिल्लो समय नेपालमा गणतन्त्र विरोधी जनमत बढिरहँदा मुनी चिन्तामा परेका छन् ।