काठमाडौँ । पोखरा – अंग्रेजी नयाँ वर्षको गन्तव्य स्थलको परिचय बनाएको पोखरा सडक महोत्सवको तयारीमा रेष्टुरेन्ट एण्ड बार एशोसियसन (रेवान) पोखरा जुटेको छ। पुस १२ देखि १६ गतेसम्म पोखराको लेकसाइडमा सडक महोत्सव हुनेछ।
फिस्टेल गेटदेखि गैराको चौतारा, जरेबर हुँदै लेकसाइडसम्म ३ किलोमिटर क्षेत्रमा सडकमै महोत्सव हुन्छ। ‘सडकमै खाउँ, सडकमै रमाउँ’ नाराका साथ हुने सडक महोत्सव यसपालि २५ औं संस्करण हो।
महोत्सवको रजत वर्षको रुपमा मनाउदै यसपालि ५ लाख बढी पाहुना भित्र्याउने लक्ष्य लिएको संयोजक विश्वराज पौडेलले बताए। ‘पर्यटन प्रबद्र्धन गर्दै विदेशी मुद्रा आर्जन र रोजगारी सिर्जना महोत्सवको उदेश्य हो’, उनले भने।
महोत्सवको आकर्षणका रुपमा साँस्कृति कार्यक्रम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकारको प्रदर्शन, दोहोरी गीत प्रतियोगिता, झाँकी प्रदर्शन रहेका छन्। रात्रिकालीन कन्सर्ट, बोट रेस, वेटर रेस, टग अफ वार, भलिबल प्रतियोगिता, सडक नाटकसँगै पोखराको पर्यटनको विकास, प्रबद्र्धन अवसर र चुनौती विषयमा बहससमेत हुनेछ।
सडक महोत्सव अन्तर्राष्ट्रियस्तरमै पोखराको पर्यटन ब्रान्ड बनेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए। ‘साढे ५ लाख पर्यटक आउँछन्। त्यसका लागि हामी कुनै पनि सेवा सुविधा पर्यटकलाई दिन हामी तयार छौं’, उनले भने।