काठमाडौं । राष्ट्रिय सभा सदस्यमा रिक्त एक सिटका लागि जेठ ६ गते हुने उपनिर्वाचन सञ्चालनका लागि निर्वाचन आयोगले एक करोड ६१ लाख ३० हजार रुपैयाँ बजेट माग गरेको छ । बजेट निकासाका लागि अर्थ मन्त्रालयमा पत्राचार समेत भइसकेको आयोगले जनाएको छ ।
आयोगले बागमती प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि राष्ट्रिय सभा सदस्य निर्वाचन ऐनको दफा ७ बमोजिम न्याय परिषद्को परामर्शमा प्राप्त नामावलीका आधारमा मकवानपुर जिल्ला अदालतका न्यायाधीश डिल्ली रत्न श्रेष्ठलाई निर्वाचन अधिकृत पदमा नियुक्त गरेको छ । आयोगका अनुसार वैशाख १६ बाट लागू हुनेगरी श्रेष्ठलाई निर्वाचन अधिकृत नियुक्त गरिएको हो ।
नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्य पदबाट रामबहादुर थापा ‘बादल’लाई कारवाही गरेपछि रिक्त रहेको एक सिटमा उपनिर्वाचन हुन लागेको हो ।