एजेन्सी । भारतमा कोरोनाभाइरसको संक्रमणमा दिनदिनै बढिरहेको छ। हरेक दिन संक्रमितको संख्यामा नयाँ रेकर्ड बनिरहेको छ । बुधबारमात्रै भारतमा एकैदिन झन्डै २ लाख मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको छ। टाइम्स अफ इन्डियाका अनुसार बुधबार भारतभरि १ लाख ९९ हजार ६ सय २० जनामा संक्रमण पुष्टि भएको हो। अहिलेसम्म संसारमा एकैदिन दुई लाखभन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको मुलुक अमेरिकामात्र छ। अमेरिकामा गत जनवरी ८ मा एकैदिन ३ लाख ९ हजार मानिसमा कोरोना संक्रमण भएको थियो ।
भारतमा एक लाख संक्रमित पुगेको १० दिनमै दैनिक संक्रमितको संख्या दोब्बर भएको हो । संक्रमण बढेसँगै भारतमा संक्रमितहरूले ज्यान गुमाउने क्रम पनि बढेको छ । १० दिनअघि कोरोनाबाट मृत्यु हुनेको संख्या दैनिक रूपमा ५ सयभन्दा कम थियो । बुधबार १ हजार ३८ जना संक्रमितको मृत्यु भएको छ । दैनिक मृत्युको यो संख्या गत अक्टोबर २ पछि सबैभन्दा धेरै हो ।
संक्रमण तीव्र रूपमा फैलिए पनि भारतका विभिन्न राज्यमा सरकारले प्रतिबन्धहरू लगाएका छैनन् । उत्तराखण्डको हरिद्वारमा कुम्भ मेला चलिरहेको छ । उक्त मेलामा सहभागीमध्ये अहिलेसम्म १२ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उत्तराखंण्ड र उत्तर प्रदेशका मुख्यमन्त्रीहरूमा पनि अहिले कोरोना संक्रमण भएको छ ।