धर्मान्तरणको धन्दामा को—को हाइप्रोफाइल

17.7k Shares

देशमा धर्मान्तरणको धन्दा लामै समयदेखि चलेको खुलेको छ । यो धन्दामा देशको उच्च पदमा पुगेका नेता, कर्मचारी देखि आफूलाई अभियन्ता भनी चिनाउनेहरु पनि लागेको तथ्य खुलाइएको छ । यसरी धर्मान्तरणमा सहयोगी भूमिका खेलेर पैसा हात पार्नेहरुमा वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल समेतको नाम आएको छ । त्यस्तै पूर्वसभामुखहरु, पूर्व तथा बहालवाला मन्त्रीहरु पनि यो प्रकरणमा मुछिएका छन् । धर्मान्तरण गराउन ठूलै गिरोह विभिन्न संस्थाको नाममा सक्रिय भएको र उनीहरुले विभिन्न दलका प्रभावशाली नेताहरुलाई पैसाको बलमा प्रभावित पारेको खुलाइएको छ ।

धर्मान्तरणको धन्दा नामक पुस्तकमार्फत् मोहन श्रेष्ठले यसको सनसनीपूर्ण खुलासा गरेका हुन् । पुस्तकको विमोचन विश्व हिन्दु परिषद्ले एक कार्यक्रमका बीच शनिबार गरेको छ ।  पुस्तकमा विभिन्न राष्ट्रिय तथा गैरसरकारी संस्था चलाएर नेपालमा धर्मान्तरणको धन्दा चलाइएको खुलासा गरेको पुस्तकले हाइफ्रोफाइल नेताहरु नै करोडौं रकममा बिकेको उल्लेख छ ।

श्रेष्ठले आफ्नो पुस्तकमा वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले धर्मान्तरणको धन्दा चलाउनेबाट १७ करोड लिएको दाबी गरेका छन् । विदेशी खुफिया एजेन्सी नै धर्मान्तरणमा लागेको र पूर्वसभामुख दमननाथ ढुंगाना पनि त्यो संस्थासँग जोडिएर धन्दा चलाएको उल्लेख गरिएको छ । कम्युनिस्ट पार्टीमा लामो समय लागेका पद्मरत्न तुलाधरले पनि धर्मान्तरणको धन्दा चलाउनेबाट नियमित रकम बुझ्ने गरेको पुस्तकमा उल्लेख छ । तुलाधरको निधन भइसकेको छ । उनी कुन कुन संस्थासँग जोडिएर काम गर्थे भन्ने पनि पुस्तकमा भनिएको छ । तुलाधरले नै कतिपय व्यक्तिहरुलाई संगठित गरी विभिन्न विदेशी चर्चसँग जोडिएका संस्थामार्फत् पैसा लिएर व्यवस्थापन गर्ने गरेको पुस्तकमा भनिएको छ । तुलाधर कुनैबेला देशमा गाई काट्न पाउनुपर्छ भन्ने अभिव्यक्तिले विवादमा परेका थिए । उनले हिन्दुविरोधी गतिविधि नै चलाएका थिए ।

धर्मान्तरणको धन्दामा लाग्नेमा मल्ल के सुन्दरको नाम पनि उल्लेख छ । उनी कुन कुन संस्थासँग आवद्ध रहेर काम गर्दै आए भन्नेबारे पनि श्रेष्ठले पुस्तकमा उल्लेख गरेका छन् । धर्मान्तरणको धन्दामा सक्रिय विभिन्न संघसंस्थाहरुले काँग्रेस नेताहरु शंकर भण्डारी, एनपी साउदलगायतलाई पनि प्रभावित पारेको विषय रोचक तरिकाले उल्लेख गरिएको छ । धर्मान्तरणको धन्दामा लागेका हाइप्रोफाइलहरुको नाम र जोडिएको संस्थामात्र नभई नेपालमा सक्रिय विभिन्न संघसंस्थाहरुको नाम र गतिविधि पनि तथ्यसहित श्रेष्ठले पुस्तकमा उल्लेख गरेका छन् ।

सम्बन्धित समाचार