आईजीपी कुँवरको दरबन्दीमा हाजिर हुने नीति कार्यान्वयन भएन, आईजीपी नीतिलाई मातहतका प्रहरीले किन टेरेनन् ?

20.7k Shares

कपिलवस्तु । नेपाल प्रहरीका महानिरीक्षक बसन्त बहादुर कुबंरले आइजिपी भएपछि मात्रै होइन डिआइजी भएर मधेस प्रदेश गएपछि एउटा नीति अगाडि सारे दरबन्दीमा हाजिर हुने । उनले यो अभियान मधेस प्रदेशमा बसेको अबधिमा एकाध बाहेक पुरा पनि गरे । पछि संगठनको नेतृत्वमा पुगेपछि त्यसलाई झनै कार्यान्वयनमा लैजाने अभियान पनि चाले । मातहतका सबै प्रदेश प्रमुख र कार्यालयहरूमा परिपत्र पनि गरे । तर पनि उनको त्यो नीति भने मातहतका कार्यालय प्रमुखहरूले कार्यान्वयन गरेको देखिँदैन । अहिले पनि जिल्ला जिल्लामा काजमा बस्ने मात्रै होइन काजमा बसेर कार्यालय प्रमुखलाई चाकडी, चाप्लुसी, कुरा लगाएर मात्रै होइन रकम बुझाएर राम्रो अतिरिक्त आम्दानी हुने थाना चौकीमा जाने र तस्करी गराएर अकुत्त सम्पत्ति कमाउने क्रम रोकिएको छैन, झनै बढेको छ । यस्तो क्रम भारतीय सीमा जोडिएका जिल्ला र ट्राफिक प्रहरीमा बढि मात्रामा देखिएको छ । कपिलवस्तु जिल्लामा पनि यस्तो क्रम चलिरहेको छ । लेखापाल भएर ६ बर्ष मस्ती गरेका सई केशव बस्नेतलाई लेखापालबाट हटेपछि दरबन्दीमा रमाना गर्नुपर्नेमा उल्टो कपिलवस्तुको सई दर्जाका लागि सबैभन्दा अतिरिक्त आम्दानी हुने चौकीको प्रमुख बनाएर पठाइएको छ । काठमाडौं दरबन्दी भएका उनलाई लेखापालबाट हटेपछि दरबन्दीमा पठाउनु पर्नेमा झन् अतिरिक्त आम्दानी हुने इप्रकामा पठाइएको छ । लेखापाल हुनका लागि पाँच लाखसम्म घुष दिने चलन अहिले पनि नेपाल प्रहरीमा छ । लेखापाल भएको कारण एकाध बर्षमा राम्रा शहरमा घर घडेरी जोड्ने, बच्चालाई राम्रो र महंगो बोर्डिङमा पठाउने हैसियत लेखापाल भएको कारण नै सम्भव भएकोले लेखापाल हुन लाखौं खर्च गर्ने हँुदै आएको छ । लेखापालबाट हटेपछि फेरि अतिरिक्त आम्दानी हुने चौकीमा पठाउने काम पनि रकमकै लेनदेनमा हुने गर्दछ । केशव बस्नेत पनि ६ बर्ष लेखापालबाट हटेपछि उनलाई बहादुरगंज इलाका प्रहरी कार्यालय पठाइएको छ ।

कपिलवस्तुका नाकाहरूबाट महिना दिन यतादेखि तस्करी मौलाएको छ । सरकारले राजश्वको दबाब झेलिरेहका बेला जिल्लामा खुलेआम तस्करी भइरहेको छ । सीमावर्ती क्षेत्रमा खटिएका सुरक्षाकर्मीको सहयोगमा तस्करी शुरू भएको खुलेको हो । नेपाल प्रहरीको सेटिङ र संरक्षणमा ठूलो तस्करी चलेको छ । बहादुरगञ्जसम्म मोटरसाईकल मार्फत् तस्करी गराउने र बहादुरगंजबाट दाङ, प्युठान, बुटवल जाने बसमा अर्डर अनुसार पठाउने गरिएको छ । बहादुरगंजमा प्रहरी कै ड्युटी अगाडिबाट बसमा लोड हुन गरेको छ । भारतीय बजार बढनी, कोटीया, शोहतगढ, जस्ता ठाउँबाट सामान किनेर नेपालमा तस्करी गराउँदै आएका छन् । बहादुरगञ्जका दिलिप गुप्ता, श्रीकान्त गुप्ता, सत्यनारायण गुप्ता र सन्तोष गुप्ता संलग्न छन् । यूरिया मलको पनि तस्करी बढेको छ । यस्तो तस्करीमा बहादुरगञ्जका उमेश गुप्ता, सत्यनारायण गुप्ता, नवल गुप्ता, सन्तोष गुपता, देवानगढियका हरिराम यादब लगायत संलग्न छन् । कपिलवस्तु जिल्ला प्रहरी मातहत सई दर्जाको लागि सबैभन्दा मालदार र  राम्रो मानिने इलाका प्रहरी कार्यालय बहादुरगंजबाट पनि तस्करीको सेटिङ हँुदै आएको छ । सीमावर्ती इप्रका नभए पनि सीमावर्ती क्षेत्रबाट तस्करी भएर आउने जतिपनि सामान हुन्छन् त्यो सामान यही इलाका प्रहरी कार्यालय मातहतबाट हाइवे हुदै अन्यत्र जाने गर्दछ । सीमावर्ती क्षेत्रबाट भएको तस्करीका सामान पक्राउ गर्नुपर्नेमा नगरी सेटिङमा नै छोड्ने गरेको समेत खुलेको छ । यहाँ खटिने सई जिल्ला प्रहरी प्रमुखलाई टेण्डर हालेर जाने मात्रै होइन महिनावारी रकम त्यो पनि कबोल गरेको दिनुपर्ने प्रचलन रहिआएको छ ।

सम्बन्धित समाचार