काठमाडौं । गत भदौ २१ गते बांनियाटार स्थित राधास्वामी सहकारीमा झडप भयो । पशुपति गिरी र राजन गिरीले खोलेको उक्त सहकारीमा झडप भएको हो । फुटुङको जग्गा सम्बन्धि बिबादमा छलफल गर्न भनेर बोलाइएकोमा उल्टो गुण्डा बोलाएर कुट्ने काम भयो । टोले गुण्डा हँुदै अहिले तरूण दलको केन्द्रीय सदस्य बनेका सुरेश डंगोलले पूर्व प्रहरी समेत रहेका अकुल बिष्टलाई छलफल गर्ने क्रममा नै आक्रमण गरेर घाइते बनाए ।
जग्गा सम्बन्धि बिबादमा छलफल गर्न भनेर सहकारीमा बसेको छलफलमा पशुपति गिरी, सुरेश डंगोल समेतले आंफुलाई आक्रमण गरेको पीडित अकुल बिष्ट बताउँछन् । आफू माथि आक्रमण भएपछि प्रहरी वृत्त महाराजगन्जमा निवेदन दिन पुगेका पीडित अकुल बिष्टको निवेदन उपर न त कुनै सुनुवाइ हुन्छ न त आक्रमणकारी पक्राउ गर्न प्रहरीले चासो नै दिन्छ । उल्टो ठाडो उजुरीमा बस्ने बरिष्ठ सई यमनाथ पनेरू जग्गाको नक्सा पल्टाउँदै अनावश्यक कुराहरू सोधेर आक्रमणकारी भागोस भन्ने अभियानमा देखिन्छन् । पीडित पक्षले बारम्बार आग्रह गर्दा पनि प्रहरीले बिष्टलाई कुटपिट गर्ने पशुपति गिरी, सुरेश डंगोल सहितका व्यक्तिहरू अझै पक्राउ परेका छैनन् ।
गुण्डागर्दीमा संलग्न मात्रै होइन दुई पटकसम्म मोटरसाइकल चोरी केशमा महाराजगन्ज प्रहरीले नै पक्राउ गरिसकेको सुरेश डंगोल २०७१ सालमा जीवन चौलागाईको सिक्री लुटपाट केशमा ८ महिना जेल बसेर निस्केका व्यक्ति हुन । नुवाकोट घर भएका डंगोल अहिले नेपाल तरूण दलको केन्द्रीय सदस्य समेत रहेका छन् । कांग्रेस सत्तामा रहेको र नुवाकोटका काङ्ग्रेस नेता तथा प्रहरी भएकै कारण उनलाई पक्राउ नगरिएको हुन सक्ने पीडित पक्षको भनाइ रहेको छ । प्रहरीले पीडितको निवेदन दर्ता समेत नगरीकन उल्टो मिल्नलाई दबाब दिएको पीडित पक्ष बताउँछ ।
इलाका प्रहरी कार्यालय कालिकामाई पर्सा दरबन्दी भएपनि सरूवा भएको एक महिना बितिसक्दा पनि रमाना नलिएका बरिष्ठ सई पनेरू यसअघि स्वयम्भू दरबन्दी भए पनि बर्षाै बर्षदेखि महाराजगन्ज वृत्तमा कार्यरत रहेर अतिरिक्त कमाईको भन्सार मानिने ठाडो उजुरीमा बसेर चकचकी गर्दै आइरहेका थिए । गोरखा घर भएका पनेरू अहिले बानियाँटार तिर बस्ने भएको कारण गुण्डा सुरेश डंगोलसँग नजिकको सम्बन्ध रहेको वृत्तका प्रहरीहरू बताउँछन् । लामो समयदेखि उपत्यकाको वृत्तहरूमा कार्यरत सई दर्जासम्मका प्रहरीहरू उपत्यका बाहिर नलखेटेसम्म यस्तो गुण्डागर्दी संरक्षण अभियान रोकिने अवस्था देखिँदैन ।
डियुटी पछि मेनपावरतिर
प्रहरीमा कतिसम्म विकृति फैलिएको छ भन्ने कुरा खोज्न र हेर्न टाढा र लामो समयसम्म पर्खनु पर्दैन । त्यस मध्येको एउटा उदाहरण महाराजगन्ज वृत्त मातहतको बसुन्धारा सिआरभीका एक असईले देखाएका छन् । स्वयम्भू दरबन्दी भए पनि बर्षाै बर्षदेखि महाराजगन्जमा कार्यरत असई गेहेन्द्र शर्माको कारण पनि बसुन्धारा क्षेत्र वरपर प्रहरी बदनाम भएको छ । २४ घण्टा सिआरभी डियुटी गरेपछि २४ घण्टा छुट्टी । असई गहेन्द्र शर्मा २४ घण्टा डियुटी गरेपछि भने बांकी समय बसुन्धारा क्षेत्रका मेनपावरका अफिसदेखि इस्पाहरूमा मात्रै भेटिन्छन् । पहिले उपत्यका प्रहरी कार्यालयले सिआरभीको सरूवा गर्ने, डियुटी खटाउने गर्ने भए पनि अहिले सम्बन्धित परिसरलाई दिएको कारण पनि सिआरभीमा खटिने प्रहरीमा छाडापन, असुली धन्दा मौलाएको स्वयं प्रहरीहरू नै बताउँछन् ।