काठमाडौं । नेपाल प्रहरीका हाकिमहरुले घुमुवा राखेर असुल्ने क्रम छाडेका छैनन् । बरु झन् बढ्दै गएको छ । रौतहटका नेपाल प्रहरीका एसपी सिद्धिविक्रम शाह र सशस्त्र प्रहरी गण नं. ११ का एसपी सूर्यसेन ओलीले सीमानाकामा तस्करीलाई खुलेआम छुट दिएर लाभ लिने गरेको समाचार प्राप्त भएको छ ।
नेपाल प्रहरीका एसपी शाहले अर्कै प्रदेशमा दरबन्दी भएका घुमुवा राखेर तस्करसँग लाभ लिँदै आएको आरोप छ । १ नम्बर प्रदेशको दंगा गण विराटनगर रानीका असई हरेन्द्र ठाकुर र संखुवासभा दरबन्दी भएका हवल्दार महेन्द्र ठाकुरलाई घुमुवा राखेका छन् । यी ठाकुर दाजुभाइ हुन् । अर्कै प्रदेशमा दरबन्दी भएका ठाकुर दाजुभाइलाई काजमा घुमुवाको रुपमा परिचालन गरिएको छ ।
रौतहटबाट सबैभन्दा तस्करी गर्ने व्यक्ति हुन् शम्भु साह । साहले कपडाको तस्करी गर्दछन् । १२ वटा पिकअप भ्यानमा भारतबाट उनले नेपालतर्फ कपडा ल्याउने गर्दछन् । बयरगनिया, बंकुल र गौर नाकाबाट साहको कपडा भित्रिने गरेको छ । उनले भन्सार नतिरी प्रहरी मिलाएर तस्करी गर्दै आएका छन् । साहको तस्करीलाई एसपी साहका घुमुवा ठाकुर दाजुभाइले समन्वय गर्दै आएका छन् । शम्भु साहका विश्वासपात्र सर्लाहीका ठाकुर दाजुभाइले रौतहटको गौरस्थित बिपी चोकमा आधुनिक घर निर्माण गरिसकेका छन् । शम्भु साहको सँगै उनीहरुले गौरमा घर बनाएका छन् । बयरगनियामा एसपी साहले असई कमल क्षेत्रीलाई परिचालन गरेको सुरक्षा श्रोत बताउछ । अर्कै प्रदेशमा दरबन्दी भएका ठाकुर दाजुभाइलाई घुमुवा राखिएको बिषयमा विभिन्न संचारमाध्यममा समाचार आएपछि एसपी शाहले सोमबार बिहान महेन्द्र ठाकुरलाई अदालतमा खटाइएको पत्र थमाएका छन् । ब्याकडेटमा पत्र तयार गरी महेन्द्रलाई अदालतमा खटाइएको छ ।
त्यसैगरी सशस्त्र प्रहरीको ११ नम्बर गण रौतहटका एसपी ओलीले देखिनेगरी घुमुवा त राखेका छैनन्, तर बिओपीका इञ्चार्जहरुबाट उनले तस्करीको हिस्सा लिने गरेको स्रोत बताउँछ । सशस्त्रको बयरगनिया आउटपोष्टका इन्स्पेक्टर विमल बानियाँमार्फत् उनले लिने हिस्सा लिने गरेको श्रोत बताउँछ । एसपी ओली डीएसपी हुँदा पनि रौतहटमै भएकाले उनलाई त्यहाँको तस्करीको एक—एक जानकारी भएकाले आइजीपी शैलेन्द्र खनाललाई प्रभावमा पारी गणपतिमा गएको स्रोत बताउँछ ।
प्रदेश प्रहरीको तर्फबाट भनेर रौतहटको यी तीन नाकामा घुमुवा राजमंगल सिंह तैनाथ छन् । शम्भु साहले जिल्ला र प्रदेश दुबैतिर मिलाएर तस्करीलाई तीव्र गतिमा अगाडि बढाएका छन् । बसको टिकट काट्ने र यात्रुसँग मोलतोल गर्ने तहबाट भन्सार छली गरी सामान भित्र्याउन थालेका शम्भु साह आज रौतहटकै ठूला कारोबारीका रुपमा उदाएका छन्