सुख र दुःख
मनव जीवनलाई अन्तसम्म बेरिरहने डोरी सुख र दुःख हो । मानिस सुख र दुःखबाट मुक्त हुन कठिन छ तर असम्भव छैन । मानिस सुख र दुखको चक्रमा घुमिरहने भएकोले नै कोही जीवनलाई सुख र दुःखको संयोग भन्ने गर्छन् । जीवनमा सबै प्रकारको सुखभोग गर्ने चाहना राख्छन् भने सबै किसिमका दुःखबाट मुक्त हुन चाहन्छन् यो मानव स्वभाव हो । यसैको कारण मान्छेहरु अनेक कर्म गर्छन् र दुःखी हुन्छन् । मानिस सुख र दुःखको परिभाषा र त्यसको प्रकृतिलाई बुझ्ने प्रयास गर्दैनन् । सुख के हो ? दुःख के हो ? सुख र दुःखका श्रोत के के हुन् ? यसका विषयमा गहन विश्लेषण गर्दैनन् । सुख र दुःखको पहिचानविना मुक्ति सम्भव छैन । त्यसैले पहिला सुख र दुःखको परिभाषाको विषयमा चर्चा गरौं ।
सुख के हो ? दुःख के हो ? आफूलाई राम्रो लाग्ने भाव सुख हो भने नराम्रो लाग्ने भाव दुःख हो । मनको व्याकुलता दुःख हो भने मनको स्थिरता वा निराकुलता सुख हो । जुन अनुभूति मन पर्छ र खुसिसाथ भोग गर्छौ, त्यो दुःख हो । कसैले तपाईंलाई मिठो भोजन दियो र भोजन मन प¥यो भने सुख अनुभूति हुन्छ । कसैले तपाईंलाई गाली ग¥यो र तपाईंलाई मन परेन भने दुःख अनुभूति हुन्छ । जीवनमा हामीलाई मन पर्ने हरेक अवस्थामा सुखको अनुभूति हुन्छ भने त्यसको उल्टो मन नपर्ने हरेक अवस्थामा दुःखको अनुभूति हुन्छ । अतः सुख र दुःख भनेको मनको अनुभूति मात्र हो । सुख र दुःख हाम्रो आफ्नै मनभित्र नै छ । जीवनमा सुख र दुःख एउटा सिक्काको दुई पाटो जस्तै हो । सुखबिना दुःख र दुःखबिना सुखको अस्तित्व नै हुँदैन ।
हरेक मनुष्यको चाहना सुख प्राप्ति हो, दुःख होइन । सबले सुखकै कामना गर्छन् । कहिल्यै पनि दुःखी हुन चाहँदैन । मानिस सधैं सुख प्राप्तिकै निम्ति प्रयत्न गरेको हुन्छ । राजा होस् या प्रजा, धनी होस् या गरिब, अपाङ्ग होस् या सपाङ्ग, पुरुष होस् या स्त्री । मानिस जति सुखको चाहना गर्छन्, उति नै दुःखको सम्भावना पनि बढ्छ । मानिस जसरी जति उचाईमा पुग्छन्, उति नै गहिराई पनि बढ्छ । दुःख छ र त सुखको अनुभूति हुन्छ । जीवनमा दुःख नै छैन भने सुखको अनुभूति कसरी सम्भव हुन्छ ? सुख छ र त प्राप्तिको चाहना हुन्छ । मानिसको प्रवृत्ति र रुचि अनुसार सुखको प्रकृति फरक हुन्छन् । कोही धनमा सुखी हुन्छन्, कोही दानमा सुखी हुन्छन् । कोही प्राप्तिमा सुखी हुन्छन् त कोही त्यासमा सुखी हुन्छन् । उच्च प्रवृत्तिका मान िअरुको दुःखमा सुखी हुन्छन्, अरुको खुसीमा दुःखी हुन्छन् । त्यसैले भावगत गीतामा श्रीकृष्ण भन्नुहुन्छ, ‘सुख र दुःखको परिभाषा हरेक मनुष्यको प्रवृत्ति र रुचि अनुसार अलग अलग हुन्छ । सुख र दुःख जीवनको चक्र हो । न सुख स्थायी छ न दुःख स्थायी छ । सुख र दुःख भनेको क्षणिक अनुभूति मात्र हुन् । मनुष्य जीवन नै स्थायी छैन भने अनुभूति कसरी स्थायी हुनसक्छ ? परिवर्तन प्रकृतिको नियम हो, त्यसै अनुसार सुख र दुःख पनि परिवर्तन भइरहन्छन् । मानौं जीवनको आधा भाग सुख हो भने आधा भाग दुःख हो । अतः जीवनमा सुखको चाहना राख्नेले दुःख भोग्न पनि तयार हुनैपर्छ ।’
दुःखको कारण
एउटा कोणबाट हेर्दा दुःखको कारण इच्छा, चाहना, आकांक्षा हो । इच्छाले मानिसको चित्त अस्थिर बनाउँछ । अस्थिर चित्तको कारण भ्रम हो भने भ्रम अचेतनको कारण उत्पन्न हुन्छ । चेतनालाई भ्रमित गर्ने काम व्यवहारले गर्छ । व्यवहारले इच्छालाई तरङ्गित बनाउँछ । त्यसैले दुःखको कारण अस्थिर चित्त हो । वास्तवमा सुखको चाहना नै दुःखको कारण हो । सुखको अनुभूतिमा पनि दुःख लुकेको हुन्छ किनभने सुखको अनुभूति हुँदा त्यसलाई स्थायी बनाउने चाहना उत्पन्न हुन्छ । मानिस त्यसको लागि अनेक उपाय गर्छन्, दुःख गर्छन् । मानिस सुख प्राप्तिको आकांक्षामा बाँच्छन् त्यसैले सुखको लागि भन्दै सधैं दुःख गर्छन् । धनमा सुख देख्छन्, धनको पछि लाग्छन्, प्रतिष्ठामा सुखी देख्छन्, प्रतिष्ठा स्थापित गर्न प्रयास गर्छन् । भौतिक सम्पन्तामा सुखी देख्छन्, भौतिक सुविधाको व्यवस्थापनमा लाग्छन् । भोगमा सुखी देख्नेहरु, भोगविलासमा डुब्छन् । नशामा सुखी देख्नेहरु, नशामा डुब्छन् । सांसारिक जीवनमा दुःख देख्नेहरु, सन्यासीको जीवन विताउँछन् । कोही पदमा पुग्छन्, कोही मन्दिर धाउँछन् । सुखको आशामा दुःखमै जीवनको अन्त हुन्छ । भ्रम यही हो । स्मरण गरौं ‘सुख बाहिर होइन, हृदयमा खोजौं ।’ संसारमा न सुख प्राप्त गर्ने बजार छन्, न दुःख मुक्त गर्ने भगवान नै छन् । संसारमा कोही पनि दुःखमुक्त छैन । संसारमा सुख मात्र कहिँ पनि छैन । यदि धनमा सुख प्राप्त हुने भए धनीहरुले निद्राको औषधी खानुपर्ने नै थिएन होला । मानिसल पदप्रतिष्ठामा सुख पाउने भए नेता, मन्त्रीहरुमा उच्च रक्तचापको समस्या नै आउने थिएन होला । संसारमा मन्दिर, सन्यासी, धनी, गरिब, पद, प्रतिष्ठा, परिवार, समाज सबैमा दुःख छन् । गौतम बुद्ध भन्नुहुन्छ, ‘संसार दुःखमय छ ।’ विद्यालयमा विद्या पाइन्छ, मदिरालयमा मदिरा पाइन्छ, वस्त्रालयमा वस्त्र पाइन्छ, दुःखालयमा सुख कहाँ पाइन्छ र ? दुःख नै पाइन्छ । संसार दुःखालय हो । जीवनमा एकपछि एक, रुप रुपमा दुःख आउँछ, जान्छ त्यसै कारण संसारलाई भवसागर भनिएको हो । यस भनाईका कारण कतिपयले बुद्धलाई निराशावादी भनेर आलोचना पनि गरेका छन् । हामीले यतिसम्म भन्नु सायद न्याय नहोला । किन भने बुद्धले दुःख निवारणको राम्रो उपाय पनि दिनुभएको छ । सुख छ, आफूभित्र छ, दुःख पनि आफूभित्रै छ । आफू बाहिर न सुख छ, न दुःख छ । सुख र दुःख मनको संवेदना मात्रै हो, चित्तको अनुभूति मात्रै हो । यहि शास्वत सत्यलाई नबुझेर मानिस सुखको खोजीमा भौतारिन्छन् । यही भ्रमको कारण मानिस सदा दुःख हुन्छन् ।
दुःख छ, दुःखको कारण पनि छ । दुःखको कारण इच्छा हो, कामना हो । इच्छा भनेको प्राप्तिको चाहना हो, आशक्ति हो । सम्पत्तिको इच्छा, सुखको इच्छा, मानसम्मानको इच्छा, कृतिको इच्छा । सन्तानको इच्छा, गाडी बंगलाको इच्छा, सुन्दरताको इच्छा, प्रतिष्ठाको इच्छा । जीवनको नै इच्छैइच्छा । इच्छा प्राप्तिको निम्ति मानिस दिनरात कर्म गर्छन् । चरम इच्छाको आवेगमा मानिस समाजिक—असामाजिक, न्यायोचित—छलकपट, सत्य—असत्य, वैधानिक—अबैधानिक सबै खालका कर्म गर्न पछि पर्दैनन् । मानिस आफ्नो इच्छाको खातिर धर्म, समाज, नैतिकता, सत्य, न्याय, सम्बन्ध सबै तोड्न तयार हुन्छन् । मानिसले जस्तोसुकै कर्म गरेको भए तापनि कर्मबाट दुई परिणाम आउँछ, सफलता या असफलता । मानिस जब असफल हुन्छ, ऊ कि निराश हुन्छ कि क्रोधित हुन्छ । मानिसको कर्म सफल हुँदा उसमा अझ चाहना बढ्छ र लोभ उत्पन्न हुन्छ । लोभबाट अहंकारको जन्म हुन्छ । अहंकारसँगै ईक्ष्र्या उत्पन्न हुन्छ । अरुको भन्दा आफूलाई सफलता मिल्दा घमण्ड उत्पन्न हुन्छ तर आफू असफल भई अरु सफल हुँदा ईष्र्या उत्पन्न हुन्छ । इच्छाको कारण काम, भय र चिन्ताको जन्म हुन्छ । भयको कारण क्रोध, अहंकार पैदा हुन्छ । त्यस्तै चिन्ताको कारण लोभ, मोहको जन्म हुन्छ । अतः काम, क्रोध, लोभ, मोह र अहंकार दुःखका मुहान हुन् ।
अर्को कोणबाट हेर्दा मनमस्तिष्क अस्थिर हुनुको कारण इच्छा हो भने इच्छालाई सबल बनाउने काम व्यवहारले गर्छ । हाम्रो चित्तलाई साथीभाई, इष्टमित्र, परिवार, समाज, राज्य प्रणालीको व्यवहारले पनि अस्थिर बनाउन मद्दत गर्छ । मानिस अपमानित हुँदा, अन्यायमा पर्दा, आघात हुँदा, कुनै चिज गुमाउनु पर्दा, धेरै नपाउँदा मन स्थिर हुन गाह्रो हुन्छ । मानिसमा नकारात्मक व्यवहारको कारण ईष्र्या, द्वेष, घृणा, क्रोध, रिस, राग, अहंकार जस्ता क्लेशहरुको जन्म हुन्छन् । जब क्लेशहरु सक्रिय हुन थाल्छन् तब सुख धेरै छाढाको कुरा हुन जान्छ । भागवत गीतामा कृष्ण भन्नुहुन्छ, ‘काम, क्रोध, लोभ, मोह र अहंकार दुःखका जननी हुन् ।’ समाजमा बलात्कार, हत्या, हिंसा, लुट, भ्रष्टाचार जस्ता अपराधहरु जन्मन्छन् । यसैका कारण सबै खालका कुकर्म हुन जान्छन् । त्यसैले धर्मग्रन्थहरुमा यी पाँच विकारहरुलाई नर्कको द्वार भनिएको छ, त्याग्य भनिएको छ, अनर्थ भनिएको छ । जसको कारण मानव मन दिग्भ्रमित हुन्छ, बुद्धि भ्रष्ट हुन्छ । अनि जीवन दुःखमय हुन्छ । अब यी दुःखका कारणहरुको विषयमा चर्चा गरौं । क्रमशः