परासी । गाईगोरूको तस्करी धन्दामा सक्रिय तस्करहरूले नवलपरासीका नाकाहरूबाट खुलेयाम गाईगोरूको तस्करी गरिरहेका छन् । लामो समयदेखि प्रहरी प्रशासनलाई मिलाएर उनीहरूले यो धन्दालाई ठूलो मात्रामा चलाई रहेका छन् । तर अहिले नेपाल प्रहरीको जिल्ला स्थित नेतृत्व परिवर्तन भएसंगै जिल्ला प्रहरी कार्यालय मातहतका केही चौकीहरूले भने गाईगोरू पक्राउ गरेबाट यो धन्दा चलिरहेको पुष्टि भएको हो । जिल्लाबाट हुने गाईगोरूको तस्करीमा यहाँका प्रमोद यादव र नुनु देवानको संलग्नता रहेको खुलेको छ । गत मंगलबार र बुधबार स्थानीय चौकीहरूले तस्करी गरिरहेका गाईगोरू समातेपछि यी तस्करहरूले लामो समयदेखि गाईगोरूको तस्करी गरिरहेको पुष्टि भएको हो । यो कुरालाई जिल्ला प्रहरी कार्यालयले पनि पुष्टि गरेको छ। यी तस्करहरूले विभिन्न जिल्लाबाट संकलन गरेका गाईगोरू पश्चिम नवलपरासीको रामनगर नाकाबाट भारत तस्करी गर्ने गरेको पनि खुलेको छ । नुनु देवान जनकपुरवासी भए पनि गाईगोरूको तस्करी धन्दामा लागेपछि अहिले परासीमा जग्गा खरिद गरि स्थायी रूपमा नै यता बसेका छन् । यी नुनु र प्रमोद यो क्षेत्रमा चर्चित गाईगोरूको तस्करीमा संलग्न कारोवारीहरू हुन ।
सीमा क्षेत्रका जिल्लामा भारतबाट किसानका नाममा गोरु नेपाल ल्याइन्छ । सीमापारिबाट ल्याइएका गोरु हाट बजारबाट खरिद गरेको कागज बनाई तस्करी हुने गरेको छ । खासगरी पश्चिम तराईको बाँके, बर्दिया, कपिलबस्तु, दाङलगाययत र पूर्व तराईको झापा, इलाम र सर्लाहीलगायत क्षेत्रमा गोरु तस्करी ज्यादा हुन्छ । तस्करले नेपाली गाउँमै डुलेर पनि गाई संकलन गर्छन् । कृषि प्रयोजनका लागि भन्दै भारतबाट ल्याइएका र नेपालमा संकल भएका गोरुलाई तस्करले चराउने बहानामा जंगल क्षेत्र लैजान्छन् । जंगलक्षेत्रबाटै गोरु भारत निकासी हुन्छ । भारतहुँदै गाईगोरु बंगलादेश पठाइन्छ । खासगरी बंगलादेशमा मासुका लागि गाइगोरु अवैध निकासी हुन्छ । कानुनतः भारतबाट नेपालमा गाइगोरी ल्याउनै पइदैन । गोरु तस्करीमा प्रहरीदेखि स्थानीय प्रशासनको समेत मिलेमतो हुने गरेको छ । तस्करले पैसा खुवाएर रोगी र बुढा गोरुलाई समेत स्वस्थ्य भएको प्रमाणित गर्न लगाउँछन् । स्थानीय जनप्रतिनिधिले समेत खुलेयाम गोरु तस्करी भएकोमा आपत्ति जनाएका छन् । पछिल्लो समय नेपाल–भारत सीमा क्षेत्रमा गाईगोरु तस्करी बढेको तथ्य सार्वजनिक भइरहँदा पनि सरकारी स्तरबाट नियन्त्रणको प्रयास प्रभावकारी भएको छैन ।
भारतीय क्षेत्रमा गोरुको मासुमा प्रतिबन्ध लागेपपछि नेपाली बाटो हुँदै विभिन्न देशमा गोरु तस्करी हुन थालेको हो । खासगरी मासुको प्रयोजनका लागि बंगलादेश र भुटानमा गोरु निकासी हुने गरेको छ । भारतीय क्षेत्रमा संरक्षण गर्न नसकेर छाडा रहेका चौपायालाई तस्करले शिकार बनाउँदै अवैध बाटो भएर बंग्लादेश र भूटानसम्म पु¥याउने गरेका छन् । जसका लागि उनीहरुले नेपालको बाटो प्रयोग गर्ने गरेका छन् ।सीमा क्षेत्रमा मात्रै हो्रइन, पहाडि जिल्लाहरुबाट गोरु संकलन हु्रन्छ र प्रशासनकै मिलेमतोमा गोरु निकासी हुन्छ । नेपालमा पनि गाईगोरुको मासु प्रतिबन्धित छ ।
पछिल्लो समय नेपाल–भारत सीमा क्षेत्रमा गोरु तस्करी बढेको छ । विगतदेखि नै गोरु तस्करी भइरहेको न्यूज सार्वजनिक भए पनि नियन्त्रणका लागि गरिएको सरकारी प्रयास असफल छ । मासुको प्रयोजनका लागि गोरुको अवैध कारोबार भएको प्रमाणित भइसक्दा पनि प्रहरी प्रशासनले आवश्यक कदम चालेको छैन । यसले तस्कर–प्रहरी मिलेमतो भएको शंका बढेको छ । सरकारले गाई निकासीमा प्रतिबन्ध लगाए पनि थारा गाईलाई गोरुसँगै भारततर्फ लैजाने र भारतीय व्यापारीले खरिद गर्दासमेत कतैबाट उजुरी नआएको प्रहरीको भनाइ छ। रोकथाम गर्ने निकायलाई थामथुम गरेर दैनिक अवैध निकासी हुने गरेको छ । खुला सीमाको फाइदा उठाउँदै भारततर्फ तस्करी गरिएको प्रतिबन्धित गाई प्रहरीले फाटफुट रूपमा बरामद गरे पनि ठूलो संख्यामा हुने निकासीतर्फ आँखा चिम्लिएको गौ संरक्षण अभियानकर्ताको आरोप छ ।
पछिल्लो समय सिन्धुली, रामेछाप, दोलखालगायतका जिल्लाबाट गाईगोरु तस्करी बढ्न थालेको छ । जिल्लाका विभिन्न ग्रामीण बस्तीबाट तस्करीको शृंखला बढ्दै जाँदा पनि स्थानीय प्रशासनले चासो नदेखाएपछि दिन प्रतिदिन यस्तो कार्यले तीव्रता पाएको हो ।त्यसमध्ये पनि तस्करीको ट्रान्जिट प्वाईन्ट सिन्धुलीलाई बनाएर वार्षिक रुपमा ८० हजारको संख्यामा गाई तथा गोरुहरु तराईतर्फ निकासी भइरहेका छन् ।यससँगै ग्रामीण क्षेत्रमा गोरुको माध्यमबाट खेतीपाती गर्ने किसानहरु चिन्तित हुन थालेका छन् । राष्ट्रिय जनाबर भएको कारणले पनि गाईगोरु मार्न र अवैध व्यापार गर्न बर्जित छ ।मुलुकी ऐन चौपायाको महलमा गाई र गोरु मार्नेमाथि ६ वर्ष जेल सजायको समेत व्यवस्था भए पनि निगरानी नहुँदा यो अवैध धन्दा रोकिएको छैन ।