काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको मानमर्दन हुने गरी आक्रामक अभिव्यक्तिका कारण चर्चामा रहेकी झाँक्रीलाई पक्राऊ गर्ने तयारी गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्री यतिबेला बाग्लुङ छिन् ।
राष्ट्रपति भण्डारीविरुद्ध बोलेपछि विवादमा परेकी झाँक्रीलाई पक्राऊ गर्न महिलासम्वद्ध संघसंस्थाहरुले गृहमन्त्री बादललाई ज्ञापनपत्र समेत बुझाएका छन् । उनलाई पक्राऊ गर्न सत्तारुढ नेकपाको ओली समूहबाट दबाब बढिरहेको छ ।
उनलाई काठमाडौं उपत्यका प्रवेश गरेलगत्तै पक्राऊ गर्ने तयारी गरिएको बुझिएको छ । देश दौडाहामा रहेकी झाँक्री बुधबार काठमाडौं आउने बुझिएको छ । उनीमाथि राष्ट्रपति भण्डारीको चरित्रहत्या गरेको भन्ने आरोप छ ।
गोरखामा आयोजित विरोध कार्यक्रमा झाँक्रीले राष्ट्रपति भण्डारीलाई बडामहारानी भनेकी छिन् । उनले भनेकी थिइन्,‘राष्ट्रपतिका कुरा त के गर्नु, म बडामहारानीलाई गोरखाबाटै सन्देश दिन चाहन्छु( निर्वाचनको तयारीका लागि सुखसुविधा ऐस आराम छाडेर शितलनिवास छाडेर पहिला कोटेश्वरमा आउनुहोस्, चाबहिल कि कता बानेश्वरतिर बसाईँ छ भन्ने सुन्या छु, होइन भने बालकोटै गए पनि हुन्छ ।’