काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव आफन्तले बुझ्न मानेका छैनन् । हत्यारालाई कारबाहीको माग गर्दै आफन्तले शव बुझ्न नमानेका हुन् ।
गएको बुधबार विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि खोजी गर्नेक्रममा बिहीबार साँझ स्थानीय लबलेक जंगलमा मृत अवस्थामा शव फेला परेको थियो ।
भागरथीको शव विभत्स अवस्थामा फेला परेकोले बलात्कारपछि हत्या गरिएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । उनको पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ । रिपोर्ट आएपछि थप कुरा खुल्ने प्रहरी अधिकारी बताउँछन् ।पोस्टमार्टम रिपोट आज साँझसम्म आउनसक्ने बताइएको छ ।
प्रहरी अनुसन्धानमा सक्रिय भएर लागेको र आफन्तले शव बुझ्ने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश सिंहले बताए । भागरथीको कपडा च्यातिएको, शरीरमा निलडाम, घाउ, घाँटी निमोठेको पाइएको छ । घटनाको अनुसन्धानमा सीआईबी, प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय बैतडीको टोली परिचालन गरिएको छ ।
मृतक भागरथीका बुवाको दुई महिना अघिमात्रै मृत्यु भएको थियो । मृतकका दाजु रोजगारीको सिलसिलामा भारतमा छन् ।
नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड माधव समुहका अध्यक्षद्धय पुष्पकमल दाहाल र माधवकुमार नेपालले संयुक्त विज्ञप्ति जारी गर्दै हत्यारालाई कारबाही गर्न माग गरेका छन् । भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनाले स्तब्ध र मर्माहत भएको उल्लेख गर्दै अध्यक्षद्धयले पाशविक र अमानवीय कुकृत्यको संज्ञा दिदै घोर भत्र्सना गरेका छन् । विज्ञप्तिमा भनिएको छ–डेढ वर्षअघि निर्मला पन्तको हत्या र त्यसमा न्याय नपाएको अवस्थाले सिर्जना गरेको आम जनताको आक्रोश सेलाउन नपाउँदै बैतडीमा घटेको समान प्रकृतिको घटनाले आम नागरिकलाई शान्ति सुरक्षा दिन राज्यसंयन्त्र असफल भएको तथ्यलाई नै प्रमाणित गरेको छ । विगतमा निर्मला पन्तको अनुसन्धान जस्तै यो घटनामा गैरजिम्मेवार नबन्न सरकारसँग आग्रह गर्दै प्रचण्ड र माधवले सत्यतथ्य सार्वजनिक गरि दोषीमाथि कडा कार्वाही गर्न माग गरेका छन् ।