राति साढे १२ बजे हात्तीले घर भत्काउन थालेपछि...

17.7k Shares

कैलाली/टीकापुर–२ राजीपुर मिलनचोकका कालीदेवी सुनारको परिवार मस्त निन्द्रामा थियो। निदाएका कालीदेवीको घर एक्कासी हल्लिन थाल्यो । कालीदेवीले घर किन हल्लियो भनी टर्च बालेर हेर्दा घर हात्तीले भत्काउन थालेको थियो ।

कालीदेवीले केही सोच्नै सकिनन्। हात्तीले उनको ठाटी घरका साथै भकारीमा भण्डारण गरेको धान, गहुँलगायत खाद्यान्न सबै नष्ट गरिदियो। “हात्तीले पछाडि घरमा हान्न थाल्यो, भूकम्प आयो कि भन्ने सोचेँ, कालीदेवीले भनिन्, “घरका भित्ता भत्कन थालेपछि टर्च बालेर हेर्दा हात्ती मच्चिएको थियो। हामी घरमा चार जना थियौँ, छोरी, छोरा र १३ वर्षको नाती। बालबच्चालाई कसरी उठाएर सुरक्षित स्थानसम्म पुर्‍याए थाहा छैन ।”

हात्तीले पछाडितिर भत्काउन थालेपछि अगाडिपट्टीको ढोकाबाट उनको परिवार भाग्न सफल भएको थियो। कालीदेवीका अनुसार हात्ती अगाडीतिरबाट आएको भए भाग्न सकिने थिएन। “हात्ती देखेपछि आँखा देखिन, डरले मुटु काप्यो, ज्यान जोगाउन ढोका खोलेर भाग्यौँ”, उनले भनिन्, “यसरी भागिएछ कि भाग्दा भाग्दै बर्दिया जाने पुलसम्म भागिएछ। हामी कराउँदै भागेका थियौँ। खुट्टामा चप्पल पनि लगाएनौँ, ज्यान मात्र सम्झियौँ ।”

कालीदेवीका श्रीमान् दानबहादुर सुनार रोजागारीका लागि भारतमा रहेका छन्। परिवार कराउँदै दौड्न थालेपछि गाउँले हल्ला सुनेर हात्ती भगाएका दानबहादुरले बताए। राजीपुरका स्थानीय हात्तीको त्रासका कारण रातिको समयमा सुत्न मुश्किल भएको बताउँछन्। यहाँ  जङ्गली हात्तीले अहिलेसम्म चार घर भत्काइसकेको स्थानीयको भनाइ छ ।

विगतमा पनि यहाँ हात्तीले नोक्सानी गर्ने गरेको स्थानीय बताउँछन्। यसरी पटकपटक नोक्सानी पुर्‍याउँदा पनि स्थानीय सरकारले चासो नदेखाएको उनीहरुको गुनासो छ। गाउँमा हात्तीको आक्रमण बढिरहेकाले नागरिकको  सुरक्षाका लागि स्थानीय सरकारले सडकबत्तीको व्यवस्था गर्नुपर्ने स्थानीय हरि सुनारले बताए। “अहिलेसम्म चार घर हात्तीले भत्काइसकेको छ”, उनले भने, “वर्षौँदेखि यही बसिरहेका हामी कहाँ जानु रु त्रासमा पनि कसरी बस्ने होला रु”

हात्तीले क्षति गरेको स्थानको वडाध्यक्ष दीपक चौधरीले अनुगमन गरेका छन्। अनुगमनका क्रममा एउटा घर, धान बालीमा क्षति हुनुका साथै भकारीमा रहेको धान खाएको उनले बताए। क्षतिको एकिन विवरण सङ्कलन गरी त्यहीअनुसार राहत उपलब्ध गराइने वडाध्यक्ष चौधरीले जानकारी दिए ।

“हात्ती तथा जङ्गली जनावरको जोखिम छ, सुरक्षित हुनुस् भनी स्थानीयलाई नियमित सूचना जारी गरिरहेका छौँ,” उनले भने, “जङ्गल बस्ती नजिक भएकाले यहाँका नागरिक असुरक्षित छन्। क्षति भएका परिवारलाई राहत दिन पालिकाले सक्दो सहयोग गर्नेछ ।” रासस 

सम्बन्धित समाचार