काठमाडौंका सबै विद्यालय खोल्न अनुमति

17k Shares

काठमाडौं, माघ १२ । दश महिनापछि काठमाडौं महानगरपालिकाले आफ्ना मातहतका सबै विद्यालयलाई सञ्चालनको बाटो खोलिदिएको छ।
कोरोना महामारीका कारण गत चैत ७ गतेदेखि बन्द रहेका विद्यालय स्वास्थ्य मापदण्ड पालना गर्दै यही माघ ११ गते आइतबारदेखि सञ्चालन गर्न अनुमति दिइएको हो।
आइतबार बसेको काठमाडौं महानरपालिका शिक्षा समितिको बैठकले विद्यालय सञ्चालन गर्न बाटो खोलिदिएको हो।
समितिका अध्यक्ष एवं मेयर प्रमुख विद्यासुन्दर शाक्यले स्वास्थ्य मन्त्रालयबाट जारी मापदण्डका आधारमा विद्यालय सञ्चालन कार्यढाँचा तयार गरी कक्षा सञ्चालनको व्यवस्था मिलाउन सबै विद्यालयलाई सूचना गर्ने जानकारी दिए।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका-२०७७’ र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको ‘स्वास्थ्य सुरक्षा मापदण्ड’ बमोजिम विद्यालय व्यवस्थापन समिति र अभिभावक सङ्घको अनुगमन तथा रेखदेखमा विद्यालय सञ्चालन गरिने पनि उनले बताए।
गत मङ्सिर पहिलो सातादेखि कामपाका केही संस्थागत विद्यालय पूर्ण रूपमा सञ्चालनमा आए पनि सामुदायिक विद्यालय भने भने आंशिक मात्र सञ्चालन भएका थिए।
बैठकले वडा १२ ब्रह्मटोलमा रहेको सरस्वती निकेतन माध्यमिक विद्यालय र वडा नं ३ महाराजगन्जस्थित शिवपुरी माध्यमिक विद्यालयलाई कम्प्युटर इन्जिनियरिङ र वडा नं ११ को विश्व निकेतन माविलाई इलेक्ट्रिकल इन्जिनियरिङ प्राविधिक विषय अध्यापनको अनुमति दिएको छ। यो कक्षा ९ देखि १२ को कार्यक्रम हो।
अनुमति दिइएका विद्यालयलाई कामपाले ५० लाख रुपैयाँ अनुदान दिएर पूर्वाधार निर्माण तथा जनशक्ति व्यवस्थापनमा सहयोग गर्नेछ।
बैठकले नेपाल भाषाका पाठ्यपुस्तक छपाइ गर्न प्रज्ञा प्रतिष्ठानसँग सहकार्य गर्ने निर्णय पनि गरेको छ।
त्यसैगरी वडा नं २६ सामाखुसीमा रहेको हार्मोनी मन्टेश्वरी इलिमेन्ट्री स्कुललाई वडा नं ६ मा स्थानान्तरणको अनुमति दिने, वडा नं १५ स्वयम्भूमा रहेको सुप्रिम एजुकेसन फाउन्डेसन प्रालिको नाम परिवर्तन गरेर सुप्रिम शिवबाबा स्कुल कायम गर्ने निणय पनि गरेको छ। रासस
 

सम्बन्धित समाचार