ललितपुर । सुमेरु ग्रुपको सहयोगमा नेपाल तेक्वान्दो संघ बागमती प्रदेशद्वारा नव नियुक्त युवा तथा खेलकुद मन्त्री दावा लामालाई स्वागत तथा सम्मान कार्यक्रम माघ १० गते शनिबार आयोजना गरिएको थियो ।
सातदोबाटोस्थित सुमेरु ग्रुपको हलमा आयोजित सो कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका मन्त्री दावा लामालाई सुमेरु ग्रुपका तर्फबाट अध्यक्ष तथा नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भरत महर्जनले सम्मान तथा शुभकामनाका साथै मायाको चिनो प्रदान गरेका थिए भने बागमती प्रदेशका तर्फबाट नेपाल तेक्वान्दो संघ बागमती प्रदेशका अध्यक्ष केशव पुरीले सम्मान तथा स्वागत गरेका थिए ।
उक्त कार्यक्रममा सुमेरु ग्रुप र नेपाल तेक्वान्दो संघ बागमती प्रदेशको तर्फबाट हालै नेपाल खेलकुद पत्रकार मञ्चद्वारा आयोजित पल्सर स्पोर्टस अवार्ड २०७६ मा तेक्वान्दोका तर्फबाट नवीन कुमार श्रेष्ठ र खेलाडी आयशा शाक्य सम्मानित भएकोमा उनीहरुलाई पनि सम्मान गरिएको थियो । कोभिड—१९ का कारण स्वास्थ्य प्रोटोकललाई ध्यानमा राख्दै सेमि भर्चुयलको रुपमा आयोजना गरिएको समारोहमा तेक्वान्दोका नवीन कुमार श्रेष्ठ वर्ष प्रशिक्षक घोषित भएका थिए भने तेक्वान्दो खेलाडी आयशा शाक्यले स्पेशल अवार्ड जितेकी थिइन् । आयशाले तेक्वान्दोको पुम्सेतर्फ एकल र युगलमा गरी दुईवटा स्वर्ण जितेकी थिइन् ।
सो कार्यक्रममा मन्त्री लामाले आफू बाली भित्र्याउने र बाली लगाउने बेलामा नभई विचमा मन्त्री पद सम्हाल्नुपरेको कारण खेलकुद क्षेत्रलाई सम्हाल्न केही अप्ठ्यारो परे पनि आफूले खेलकुद क्षेत्रको विकास र खेलाडीको मनोबल बढाउने कामको थालनी गरिसकेको बताएका थिए । खेलकुद विकास र खेलाडीले खेलकुद क्षेत्रमै लागेर जिविकोपार्जन गर्न सक्ने वातावरण बनाउने उनले खेलाडीहरुलाई आश्वासन दिएका थिए ।
त्यसैगरी, सो कार्यक्रममा विशेष अतिथिको रुपमा रहेका सुमेरु ग्रुपका अध्यक्ष तथा नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भरत महर्जनले खेलाडीहरुको मनोबल बढाउनका लागि सुमेरु ग्रुपद्वारा संचालित सुमेरु अस्पतालमा उपचारार्थ आउने तेह्रौ साग गेममा पदक ल्याउने तेक्वान्दोका खेलाडी, नेपाल तेक्वान्दो संघका पदाधिकारी, प्रत्येक प्रदेशका अध्यक्ष तथा ७७ वटै जिल्लाका नेपाल तेक्वान्दो संघका अध्यक्षहरुलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको घोषणा गरेका थिए । त्यस्तै, १४ औं साउथ एसियन गेममा स्वर्ण पदक ल्याउने तेक्वान्दोका खेलाडीलाई उत्साह मनोबल बढाउनका लागि जनही दुई लाख रुपैयाँ दिने घोषणा गरेका थिए । उद्घोषकै क्रममा महर्जनले खेलाडीलाई मनोबल र आत्मबल बढाउनका लागि र १३ औं साग गेममा तेक्वान्दोले १२ वटा स्वर्ण ल्याउन सफल बनेको र आगामी १४ औं साग गेममा कम्तिमा पनि २० वटा स्वर्ण पदक ल्याई नेपालको साख जोगाउने काम गर्न मनोबल बढोस् भनेर प्रत्येक स्वर्णपदक धारी खेलाडीलाई दुई लाखका दरले प्रोत्साहनवापत रकम प्रदान गर्ने घोषणा गरेको बताएका थिए ।
स्मरणीय छ, तेह्रो साग गेममा पनि तेक्वान्दोका तर्फबाट स्वर्ण पदक ल्याउने खेलाडीहरुलाई जनही ५० हजारका दरले खेलाडीलाई सुमेरु ग्रुपका अध्यक्ष महर्जनले सहयोगस्वरुप प्रदान गरेका थिए भने रजत र काश्य पदक ल्याउने खेलाडीहरुलाई पनि जनही २५ र १० हजारका दरले सहयोग गरेका थिए । आगामी दिनमा तेक्वान्दोको तर्फबाट अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा स्वर्ण पदक ल्याउने खेलाडीलाई सुमेरु ग्रुपका अध्यक्ष महर्जनले दुई लाख रुपैयाँ दिने घोषणा गरेपछि मन्त्री लामाले महर्जनले खेलकुद र खेलाडीप्रति देखाएको सद्भावको कदर गर्दै मन्तव्य दिने क्रममा महर्जनलाई सेलुट गरेका थिए ।
सो कार्यक्रममा स्वागत मन्तव्य दिँदै ओलम्पियन खेलाडी तथा साफ गेममा लगातार चारवटा स्वर्ण पदक ल्याउन सफल दिपक विष्टले खेलाडीलाई खेल्ने वातावरण, दैनिक जिविकोपार्जनको व्यवस्था गरिदिए नेपालमा एकसे एक खेलाडीहरु उत्पादन भई अन्तर्रांष्ट्रिय क्षेत्रमा नेपालको झण्डा फहराउन कुनै कठिनाई नहुने बताएका थिए ।
त्यस्तै, खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठले युवा तथा खेलकुद मन्त्री दावा लामा नियुक्त भएपछि खेलाडीहरुको मनोबल बढाउने काम भएको बताएका थिए । मन्त्री लामाले कहिले दिने कहिले रोक्ने गर्दै आएको प्रोत्साहन भत्तालाई निरन्तरता दिने आश्वासन दिएको प्रति अब खेलकुद क्षेत्रमा केही हुने आशा पलाएको बताए ।
सो कार्यक्रमको सभापतित्व गरेका नेपाल तेक्वान्दो संघ बागमती प्रदेशका अध्यक्ष केशव पुरीले तेक्वान्दो खेलले नै नेपालको नाम विश्वसामु चिनाउन सफल बनिरहेको अवस्थामा तेक्वान्दोका खेलाडीहरुको मनोबल बढाउन आगामी दिनमा प्रदेश, जिल्ला र स्थानीय स्तरमा नियमित रुपमा प्रतियोगिताहरु संचालन गर्दै जाने बताए । यस्ता प्रतियोगिताहरुका लागि सरकारले विशेष चासोका दिई साथ र सहयोग दिनुपर्ने र प्रत्येक यस्ता प्रतियोगिताहरुमा मन्त्री आफैले प्रमुख अतिथिको रुपमा सहभागिता जनाई खेलाडीहरुको मनोबल बढाउने काम गरिदिनसमेत आग्रह गरेका थिए । स्मरणीय छ, नेपाल तेक्वान्दो संघ बागमती प्रदेशले आगामी भदौमा प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता गर्ने निर्णय गरेको सो कार्यक्रममा अध्यक्ष पुरीले जानकारी गराएका थिए । उद्घोषक तेक्वान्दोका प्रशिक्षक हेमन्द डाँगीले गरेका थिए ।