घरको पिलर र हड्डी उस्तै—उस्तै हो

21.1k Shares

जन्मस्थान दाङ भई हाल नयाँबानेश्वर बसोबास गर्दै आएका अर्थोपेडिक्स डाक्टर प्रभाव पोख्रेल पाटन अस्पताल र सुमेरु अस्पतालमा कार्यरत छन् । ललितपुरको मानभवनस्थित आदर्श विद्या मन्दिरबाट स्कुले जीवन विताएका डा. पोख्रेलले कमलपोखरीस्थित क्रिष्ट कलेजबाट प्लस टु सकी एमबीबीएस केयुअन्तर्गत नेपालगंज मेडिकल कलेज र एमएस टियुअर्न्तगत नेशनल मेडिकल कलेज, वीरगंजबाट गरेका हुन् । आफ्नो कार्यथालनी चितवनस्थित अलाइभ ट्रमा सेन्टरबाट सुरु गरी हाल पाटन अस्पताल र सुमेरु अस्पतालमा कार्यरत छन् । घर मज्बुत हुन जति पिलरको महत्वपूर्ण भूमिका रहन्छ, मानव जीवनमा पनि हड्डीको त्यतिकै महत्वपूर्ण भूमिका हुने बताउने डा. प्रभाव पोखरेलसँग अर्थोपेडिक्ससम्बन्धी खोजतलास साप्ताहिकले गरेको संक्षिप्त कुराकानी ः 
० डाक्टरी पेशा नै किन रोज्नुभयो ?
कसैको दुःखको निवारक बन्नु र उसको खुसीको, स्वास्थ्यको र हाँसोको कारण आफू बन्न डाक्टर पाउनु साह्रै ठूलो कुरा हो जस्तो लाग्छ मलाई । यो खालको आनन्द अरु कुनै पेशामा पाउन सकिन्न जस्तो लाग्छ मलाई । त्यसैले पनि सानैदेखि एक प्रकारको चार्म देख्थें यो पेशाप्रति । सायद त्यसैले होला डाक्टर बन्ने प्रेरणा मिलेको ।
० यति धेरै विधा मध्ये अर्थोपेडिक्स नै किन न त ?
विरामी हुनु भनेको स्वयम्को लागि र परिवारको लागि साह्रै कष्टकर हुन्छ । अझ युवा अवस्थामा कुनै पनि कारणले अपाङ्ग हुनु वा ज्यान गुमाउनु परिवारको लागि त अभिषाप हुने नै भयो । समग्र देशको लागि पनि एउटा होनहार नागरिक गुमाउनु भनेको ठूलै क्षति हो । त्यसैले अर्थोपेडिक्समा हामी अपाङ्गगता हुनबाट र ज्यान गुमाउनबाट जोगाउन सकिन्छ भनेरै यो विधा छानेको हुँ । 
० अर्थोपेडिक सर्जनले के हड्डीको मात्रै उपचार गर्छन् ?
अर्थोपेडिक्समा हड्डी मात्रै नभएर मांशपेशी, लिगामेन्ट र नशा सम्बन्धी पनि उपचार गरिन्छ । जन्मजात अपाङ्गता, हड्डी भाँचिएको, हात खुट्टा झमझमाउने, हातखुट्टा लुलो भएको, लङ्गडो भएको, बाथ रोग कृतिम हातखुट्टा राख्ने सबै खालको उपचार अर्थोपेडिक्स भित्रै पर्दछन् । 
० चिकित्सा सम्बन्धी पढाई केही बताई दिनुहुन्छ कि ? अर्थोपेडिक्स सर्जरीमा संलग्न हुनुहुन्छ ?
मैले एमबीबीएस चाहिँ केयु अन्तर्गत नेपालगंज मेडिकल कलेजबाट गरेँ भने एमएस अर्थोपेडिक्स चाहिँ टीयु अन्तर्गत नेशनल मेडिकल कलेजबाट गरे । त्यसपछि थाइल्याण्डबाट .... सर्जरीमा फेलोसीप गरे । हाल पाटन अस्पताल र सुमेरु अस्पतालमा कार्यरत छु । लगभग ६ वर्ष हुन लागेको छ मैले अर्थोपेडिक्स प्राक्टिस गर्न लागेको  ।
० के अपाङ्गता दुर्घटनाले मात्रै गराउँछ ?
होइन । कोही कोही जन्मदै अपाङ्गता लिएर पनि जन्मेका हुन्छन् । कोही दुर्घटनामा परी हुन्छन् । 
० सबैभन्दा बढी कुन समस्याले आउँदछन् विरामीहरु ?
हामीले दैनिक ओपीडीमा हेर्ने विरामीहरु मध्ये धेरै जसो कम्मर दुख्ने र जार्नी खिइएको समस्या लिएर आउनुहुन्छ । 
० हड्डी खिइने भनेको के हो ?
हाम्रो जोर्नीमा एउटा चिल्लो लियर हुन्छ । जसलाई कार्टिलेज भन्छौं हाम्रो भाषामा । यो कार्टिलेजले गद्दाको काम गर्छ र दुईटा हड्डीलाई एक आपसमा रगडीन दिँदैन । उमेर बढ्दै गएपछि यो कार्टिलेजको इलास्टीसीटी कम हुँदै जान्छ र यसले राम्रोसँग गद्दाको जस्तो काम गर्न सक्दैन जसले गर्दा दुई हड्डी एक आपसमा रगडिन्छन् र दुख्न सुरु हुन्छ । यसैलाई हड्डी खिइएको भनिन्छ । जोर्नी खिइनु भनेको जोर्नीको वरीपरी रहेको मांशपेसी, लिगामेन्टस्हरु सबै कमजोर हुँदै मर्किदै जान्छन् । 
० कस्तो व्यक्तिमा यो समस्या बढी देखिन्छ ?
पाको उमेर, ज्यादा तौल, ज्यादा आराम (सेडरटरी लाइफस्टायल) भएको व्यक्तिमा बढी देखिन्छ । विशेषगरी वेट बेरिङ्ग ज्वाइन्टस् जस्तै घुँडा, कुर्कुच्चाहरुमा बढी हुन्छ । 
० यसको उपचार के कस्तो हुन्छ ?
यो उपचार चाहिँ रोगको अवस्था हेरेर हुन्छ । सुरुको अवस्थामा सामान्य औषधी र फिजियोथेरापीले निको हुन्छ भने खुट्टा नै बाँङ्गो भइसकेको अवस्थामा जोर्नी प्रत्यारोपण गरिन्छ । 
० अर्थोपेडिक्समा स्टीलहरु पनि प्रयोग गर्ने गरेको पाइन्छ । आजकल सबै केसमा अप्रेशन नै गरेर स्टील नै हाल्ने गर्छन् भन्ने गुनासो छ नि ? तपाईं के भन्नुहुन्छ ?
त्यस्तो होइन । रोगको प्रकृति तथा विरामीको पेशाको अवस्था हेरेर हुन्छ । हड्डी त आफैं जुट्छ त्यसलाई हामीले जुटाउने होइन । हाम्रो काम भनेको भाँच्चेर सरेको हड्डीलाई बाङ्गो हड्डीलाई सोझो बनाएर पहिलेकै ठाउँमा ल्याइदिने मात्रै हो ताकि हड्डी बाङ्गो नजुटोस् । त्यो कुरा प्लास्टरबाट एचिभ भए प्लास्टर लगाइन्छ नत्र अप्रेशन गरेर स्टीलको पाता, रड, तारको प्रयोग गरिन्छ । पहिले सबै जसो फ्याक्चर केसमा प्लास्टर लगाइन्थ्यो अनि कुनै कुनै केसमा प्लास्टरभित्रै हड्डी सरेर बाङ्गो हुन्थ्यो भने कतिपय केशमा हड्डी सोझो बनाउनै सकिन्नथ्यो । आजकल टेक्नोलोजी छ, हामीसँग सीप छ, त्यसैले उपचारका नयाँ विधि पनि छन् । फेरि उपचार भनेको हड्डी जुटाउनु मात्रै पनि होइन, विरामी चाँडो भन्दा चाँडो उठेर पहिलेको अवस्थामा पुग्न चाहन्छ, आफ्नो दैनिकी पहिलेको जस्तै बनाउन चाहन्छ । पहिलेको जस्तो हिँडडुल गर्न सक्ने, आफ्नो दैनिक कार्य गर्न सक्ने बनाउनलाई पनि आजकल अप्रेशन धेरै भएको हुनसक्छ । 
० शरीरको लागि हड्डी कत्तिको आवश्यकता छ ?
हड्डी भनेको शरीरको एउटा फ्रेमवर्क हो । हड्डी विना शरीरको संरचना नै सम्भावना छैन । विना हड्डीको शरीर भनेको मासुको थुप्रो जस्तो मात्रै हो । घर ठडिनको लागि जसरी पिलर आवश्यकता हुन्छ, त्यसरी नै एउटा मानिसको लागि हड्डी भनेको पिलर जस्तै हो । 
० जोर्नी र हड्डीबीच कस्तो सम्बन्ध रहन्छ ?
दुईवटा हड्डी ज्वाइन हुने ठाउँलाई जोर्नी भनिन्छ । यसको वरीपरी पातलो झिल्ली हुन्छ, जसलाई हामी साइनोभिएम भन्छौं । जोर्नीमा सामान्यतया चिल्लो पदार्थ पनि रहेको हुन्छ । जसले जोर्नीलाई चलायमान बनाउन सहयोग गर्छ । 
० लिगामेन्ट भनेको के हो ?
लिगामेन्ट भनेको दुईवटा हड्डीलाई बाँधेर राख्ने तत्व हो । यसले जोर्नीलाई स्टेभल बनाउने काम गर्छ । हामीले घर ढलान गर्दा डण्डीहरु बाँध्न जुन तार प्रयोग गर्छौं त्यही तारको जस्तै लिगामेन्टले काम गर्छ । 
० लिगामेन्ट इन्जुरी हुनुका कारण के होला ?
यो प्रायः गरी खेलाडीहरुमा देखिने समस्या हो । यो बाहेक जो कोहीलाई पनि खुट्टा मर्किँदा, चोटपटक लाग्दा पनि यो समस्या देखिन सक्छ । साथसाथै उमेर ढल्किँदै जाँदा पनि लिगामेन्ट कम्जोर हुन्छ र इन्जुरी हुने समस्या देखिन्छ । 
० हड्डी सम्बन्धी विशेष गरी कुन कुन पार्टको उपचारहरु गर्ने गर्नुहुन्छ ?
मैले विभिन्न दुर्घनाबाट भाँचिएका हातखुट्टा, मेरुदण्ड र लिगामेन्ट इन्जुरी र जोर्नी प्रत्यारोपणको उपचार गर्ने गरेको छु, छ वर्षको अनुभवमा मैले धेरै हड्डी सम्बन्धी विरामीहरुको उपचार गरिसकेको छु । 
० सानोतिनो घटनामै हड्डी भाँचिने गर्छ के कारणले यस्तो हुन्छ ?
हड्डीकै कुनै रोग भएको अवस्था अथवा बुढेसकालको हड्डीमा सामान्य चोट लाग्दा पनि हड्डी भाँचिने गर्छ । 
० बुढेस कालमा भाँचिएको हड्डी जोडिने किन लामो समय लाग्छ ?
उमेर ढल्कँदै जाँदा नयाँ हड्डी बन्ने प्रक्रियामा पनि कमी आउँछ । सोही कारणले पनि बच्चाको भन्दा बुढाहरुमा समय बढी लाग्छ ।
० अप्रेशन सर्जरी महँगो हुन्छ भन्छन् नि ? 
अरुभन्दा अलि खर्चिलो हुनुको कारण चाहिँ यसमा लाग्ने स्टीलहरु ज्यादै महँगो भएकोले पनि होला । जस्तै जोर्नी प्रत्यारोपण, मेरुदण्डको अप्रेशनहरु अलि महँगो हुन्छन् । तर, आजकल सरकारले मेरुदण्ड भाँच्चिएको विरामीलाई उपचार खर्चमा सहयोग गर्ने गरेको छ । विस्तारै अरु उपचारमा पनि विमाको व्यवस्था हुनेछ भन्ने आश गरौं । 
० यो सरकारी राहत त सरकारी अस्पतालमा मात्रै त होला नि ?
हाल म पाटन अस्पताल र सुमेरु अस्पताल (सरकारी र प्राइभेट) दुबैमा संलग्न छु । सरकारी अस्पतालमा यो सेवा पहिलेदेखि नै थियो तर हाल आएर यो सेवा सुमेरु अस्पतालमा पनि सुरु भएको छ । मेरुदण्डको अप्रेशनको लागि सरकारले एक लाख रुपैयाँको राहत दिने गरेको छ ।
० सुमेरु अस्पतालमा कस्तो खालको उपचारहरु हुने गरेको छ ?
हातखुट्टा भाँच्चिएको, मेरुदण्ड भाँच्चिएको, नशा च्यापिएको, लिगामेन्ट इन्जुरीको तथा जोर्नी प्रत्यारोपण सबै खालको उपचार दिने गरेका छौं । 
० नेपालमा औषधिहरु सजिलै किन्न पाइन्छ । सामान्य दुखेको अवस्थामा के पेन किलर किनेर आफै खाँदा हुन्छ ?
पेनकिलर पनि धेरै किसिमका हुन्छन् र त्यसले शरीरलाई इफेक्ट र साइड इफेक्ट पनि गर्ने गर्छ । सबै खाले दुखाईमा एउटै पेनकिलरले काम गर्दैन । सिंगल डोज खाँदा पनि किड्नी फेलर भएको तथ्यहरु छन् । त्यसैले चिकित्सकको सुझावमा मात्रै औषधी सेवन गर्नु उचित हुन्छ । 
० आफ्नो र परिवारको लागि समय कसरी निकाल्नु हुन्छ ?
अलि गाह्रै छ फ्रि समय निकाल्न त । छुट्टी नै कुर्नुपर्छ । 
० गाह्रो छ उसो भए डाक्टरलाई ?
गाह्रो त नभनौं तर व्यस्तता चाहिँ छ ।
० अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
अर्थोपेडिक समस्या धेरै जसो सामान्य औषधी र फिजियो थेरापीले नै निको हुन्छ । त्यसैले केही समस्या भएमा बेलैमा चिकित्सकको परामर्श लिई सजिलो तरिकाले उपचार गराउनु होला । 
 

सम्बन्धित समाचार