हाइप्रोफाइल धमाधम जेल हाल्दै प्रचण्ड बने प्रभावशाली

52.3k Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री हुनुअघि नै पुष्पकमल दाहाल प्रचण्डले योपटक आफूले अविस्मरणीय कामहरु गर्ने बताएका थिए । नभन्दै सरकारको नेतृत्व गरेको ६ महिना बित्दा उनी आक्रामक रुपमा प्रस्तुत भइरहेका छन् । विशेषगरी भ्रष्टाचारको मामलामा प्रचण्ड आक्रामक देखिएका छन् । नेपाल प्रहरीमार्फत् प्रचण्डले हाइप्रोफाइल व्यक्तिहरुलाई हिरासतमा पुर्याइरहेका छन् । अदालतले कतिपयलाई जेल पठाइसकेको छ । भुटानी शरणार्थी प्रकरणको फाइल खोलिदा प्रचण्डको निशानामा परे पूर्वमाओवादी नेताहरु जसले कठिन घडीमा साथ छाडेर गएका थिए । उपप्रधानमन्त्री भइसकेका टोपबहादुर रायमाझी यो प्रकरणमा मुछिएर र्पुपक्षका लागि थुनामा छन् । उनका छोरा सन्दीप रायमाझी पनि जेल छन् । 
प्रचण्डले संविधानसभाको सदस्य बनाएका डा. इन्द्रजीत राई पनि तानिए । उनी पनि जेल छन् । राईका छोरा पनि तानिएका छन् । प्रचण्डका कुनैबेलाका विश्वासपात्र थिए रामबहादुर थापा बादल । उनका छोरा पनि यो प्रकरणमा मुछिए । भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँड, पूर्वगृहसचिव टेकनारायण पाण्डेय पनि जेल छन् । 
अहिले फेरि पुरानो ललिता निवास प्रकरणको फाइल खुलेको छ । ओलीको पालामा खोलिएको या फाइलमा मुछिएकामध्ये कतिपयले उन्मुक्ति पाएका थिए । अहिले प्रचण्डले सीआइबीमार्फत् फाइल खोल्न लगाएका छन् । ललिता निवास प्रकरणमा पूर्वमन्त्री, अख्तियारका पूर्व आयुक्तहरु, पूर्वसचिव, बहालवाला सचिव, हाइप्रोफाइल व्यवसायी सबै तानिएका छन् । सञ्चार सचिव कृष्णबहादुर राउत विमानस्थलबाट नै पक्राउ परे । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । यो प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीहरु डा. बाबुराम भट्टराई, माधवकुमार नेपाल, पूर्वउपप्रधानमन्त्री विष्णु पौडेल, न्यायाधीश कुमार रेग्मीलगायतका बारे पनि सीआइबीको चासो बढेको बुझिएको छ । 
ललिता निवासको फाइल खुल्दा हाइप्रोफाइलहरुको बोली बन्द भएको छ । उनीहरु प्रचण्डको विरोध गर्न पनि डराएका छन् । यो फाइल खोलेर प्रचण्डले विभिन्न राजनीतिक दल, कर्मचारीतन्त्र, अदालत सम्म तरंग ल्याइदिएका छन् । यही अस्त्रबाट उनी राजनीतिमा प्रभावशाली बन्दै गएका छन् । उनलाई सत्ताबाट हटाउन विरोधी डराएका छन् । अर्कोतर्फ, अदालतमा पनि खैलीबैली मच्चिएको छ । 

सम्बन्धित समाचार