काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको एकपछि अर्को कमजोरी समात्दै राजनीतिक लाभ निरन्तर लिँदै आएका छन् । देउवाको राजनीतिक भागवण्डामा अलमलिने स्वभावबारे जानकार ओलीले बितेको तीन वर्षमा प्रमुख प्रतिपक्षीलाई निरिह बनाए । एकपछि अर्को गम्भीर गल्ती गर्दा पनि देउवाले ओलीलाई भित्री रुपमा निरन्तर साथ दिइरहे । बदलामा उनले केही राजनीतिक नियुक्तिमा भाग पाए । सासु प्रतिभा राणालाई जापानका लागि राजदूतबाट फिर्ता गर्नबाट रोक्न सके । यसबाहेक ओलीको राजनीतिक नियुक्तिका केही चाहना निरन्तर पूरा गरिदिए ।
५ पौषमा प्रतिनिधि सभा बिघटनको कदम चाल्दा ओलीले देउवासँग सरसल्लाह गरेका थिए । देउवाले त्यसको चर्को विरोध गरेनन् । ओलीलाई बरु भित्री रुपमा साथ दिइरहे । यसको बदलामा उनले संवैधानिक निकायमा आफ्ना मान्छेको नाम सिफारिश गराउन सफल भए । संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गर्दा विरोध गरेजस्तो मात्र गरे । संसद् बिघटन पूर्व ओलीसँग बालुवाटारमा पटक पटक भेटेका देउवाको भित्री समिकरण अहिले खुल्दै गएको छ । उनले प्रतिनिधिसभा पुनःस्थापनाको एजेन्डाको विरोध गरेका छन् । बरु चुनावको तयारीमा जानुपर्नेमा जोड दिँदै आएका छन् ।
१४ औंै महाधिवेशनको सामना गर्नुपर्ने चुनौतीले देउवामा छटपटी बढिसकेको थियो । निकटस्थ मानिएका विमलेन्द्र निधिले सभापतिको दाबेदारी प्रस्तुत मात्र गरेनन् पार्टी बैठकमै महाधिवेशनमा देखाइदिने चेतावनी दिए । यसले देउवा समस्यामा परिसकेका थिए । पार्टीभित्रका प्रतिद्वन्द्वीहरु एकतावद्ध हुने अवस्था बन्ने सम्भावना बढेको थियो । देउवालाई महाधिवेशन जसरी पनि टार्नु थियो । कुनै हालतमा २०७८ को शुरुमा महाधिवेशन गर्नुपर्ने वाध्यात्मक अवस्था थियो देउवालाई । उनलाई ओलीले संसद बिघटन गरी वैशाखमा चुनाव घोषणा गरेर सजिलो बनाइदिए । अब संसद पुनःस्थापना नभएको अवस्थामा देउवाले महाधिवेशन पछि धकेल्न सक्नेछन् । उनले खोजेको यही थियो । ओलीले अध्यादेश ल्याएर राजनीतिक दलसम्बन्धी नियमावली संशोधन गरेर भएपनि देउवालाई सजिलो बनाइदिने संकेत पनि देखिइसकेको छ । यस्तै भित्री समझदारीमा देउवाले ओलीको असंवैधानिक कदमको विरोध गरेनन् । बरु यो कदमले ज्योतिषले सातपटक प्रधानमन्त्री हुने भविष्यवाणी गरेको सम्झन थालेका छन् ।
पार्टीभित्रको घेराबन्दी तोड्ने नाममा ओलीले संसदलाई बिघटन गरेका छन् । एकपछि अर्को कठोर कदम चाल्दै जाँदा ओली आफै फस्दै गएका छन् । सँगसँगै देउवालाई पनि त्यही जालमा तान्दै लगेका छन् । देउवाले चुनाव वैशाखमा नभए मंसिरमा हुने र त्यसबीच महाधिवेशन गर्नुनपर्ने अवस्था निर्माण गराउन ओलीको साथ लिने योजना बुनेका छन् । ओलीसँग भित्री समिकरण बनाएर अगाडि बढ्न खोजिरहेका छन् । चुनावमा सभापतिका रुपमा टिकट बाँड्न पाइने आशा देउवालाई छ । महाधिवेशन पनि धकेल्न पाइने र १३ औं महाधिवेशनकै आधारमा सभापति बनेर चुनाव जितेर अर्को महाधिवेशन जित्न सकिने आँकलन देउवाको देखिदैछ । तर, उनले भनेजस्तो राजनीतिक सिधा बाटोमा नबढ्ने निश्चित छ । ओलीसँग साँठगाँठ गरेर देउवाले राजनीतिक संकट बढाउने कदममा भूमिका निभाएका छन् । यसले नेपाली काँग्रेसलाई पनि गम्भीर संकटमा धकेलेको छ । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले ओलीले योभन्दा खतरनाक कदम चाल्नेसक्ने बताइसकेका छन् । उनले चुनाव गर्नका लागि ओलीले घोषणा नगरेको बताइसकेका छन् ।
चुनावी ललिपप देखाएका चतुर ओलीले फुटेको दलको चिन्ह बोकेर मैदानमा जाने छैनन् भन्ने निश्चित नै छ । बरु उनले चुनावी सरकार नभएर पूरा कार्यकालको प्रधानमन्त्रीको दाबी गरिसकेका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्यसै यसो भनेका होइनन् । चुनाव घोषणा गर्ने तर चुनावी सरकार होइन भनेबाट नियतमा खोट देखिन्छ । चुनाव नगर्ने र लम्ब्याउँदै अध्यादेशमाथि सत्ता चलाइरहने ओलीको नियत देखिन्छ । जबसम्म प्रचण्ड समूह मिलेर चुनावमा जाने सहमतिमा आउँदैनन् तबसम्म ओलीले समय तन्काइरहन सक्छन् । उनले यसका लागि सारा अस्त्र तयार गरिसकेका छन् । ओलीले चुनाव गर्दैनन् भन्ने बुझेरै प्रचण्ड र माधवकुमार नेपाल आन्दोलनको आँधीबेहरी सृजना गर्ने गरी बढेका छन् । तर, देउवाले चुनावी ललिपप देखेका छन् । उनका लागि चुनाव माछाका लागि बल्छी सावित हुने देखिदैछ ।
काँग्रेसलाई इतिहासकै कमजोर अवस्थामा पु¥याएका देउवा ओलीको राजनीतिक पासोमा परेबाट झन् संकटको अवस्था आउने निश्चित जस्तै छ । देउवा अब निरिह जस्तै अवस्थामा पु¥याइनेछन् । उनलाई ओलीसँग गरेका भित्री सम्झौताका पाटोहरु खुलाइदिने भय त्यतिबेला हुनसक्छ । त्यस अवस्थामा देउवा झन् निरिह बन्दै जानेछन् । उनले सभापति पद लम्ब्याउने र मध्यावधि चुनावबाट भारी मत ल्याएर प्रधानमन्त्री बन्ने सपना देखेका छन् । तर, उनी ओलीको योजनामा फसिसकेका छन् ।