कलैया । सरकारी बजेट झण्डै दुई खर्वले नोक्सानीमा रहेको तथ्य अर्थमन्त्रीले संघीय संसदमा नै पेश गरे । कुनै पनि भन्सारले लक्ष्य अनुरूपको राजश्व संकलन गर्न सकेनन् । अझै बिशेष गरेर भारतसंग सीमा जोडिएका तराईका जिल्लामा रहेका भन्सारको राजश्व संकलनको स्थिति दयनीय नै छ । यो अवस्था आउनुमा मुख्य कारण भनेको सीमावर्ती क्षेत्रमा हुने गरेको चोरी तस्करी नै प्रमुख कारण हो भन्ने कुरामा विवाद रहेन । खास गरेर सुरक्षाकर्मीहरूको सहयोग, संरक्षण र सेटिङमा सीमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी कै कारण नै राजश्व संकलनमा ठूलो असर परेको यथार्थता हो । अहिले बारा जिल्लाका नाकाहरू तस्करका लागि उर्वर भूमि नै बनेको छ । तस्करहरूले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई मिलाएर ठूलो मात्रामा सिम्रौनगढ नाकाबाट तस्करीको सिन्डिकेट नै चलाएका छन् ।
अहिले सिम्रौनगढबाट त्यस मातहतका अन्य साना नाकाबाट तस्करीको लाइन पाउनेहरूमा गुरूदेव साह, उपेन्द्र यादव, उपेन्द्र साह, दिनेश यादव, कवलपुरको माष्टर, भारतीय नागरिक महादेव साह, महेश यादव, बिखु यादव, मुकेश मुखिया, उमेश साह बच्चा यादव ,सन्दिप यादव, सभास दास, शत्रुधन कुशवाह, रामशरण कुशवाह, प्रदिप यादव, अरविन्द साह, शनि यादव, नरेश यादव, मुख्य रहेका छन् । उनीहरूले चल्ला, कपडा, हार्डवेयर लगायतका सबै सामानको तस्करी गर्ने गर्दछन ।
यी तस्करहरूलाई लाइनको सेटिङ मिलाउने काम नेपाल प्रहरीको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक जितेन्द्र साहले मिलाएका छन् भने तस्करहरूसंगको आर्थिक लेनदेनको कारोवार उनले परिचालन गरेका घुमुवा प्रहरी सहायक हवल्दार राम सागर यादवले गर्दै आइरहेका छन् ।तस्करहरूले निरीक्षक जितेन्द्र साहका अलावा प्रहरी चौकी कचर्वाका असई अमृत यादव, खजानीका असई सुजित सिंह, पथलवाघाटका असई सुजित सिंह र बैरियाका असई राजिव सिंहलाई समेत मिलाएर तस्करी गरिरहेका छन् । जिल्ला प्रहरी कार्यालयमा टेण्डर हालेर गएका यी असईहरूले मासिक यी तस्करहरूबाट पाँच लाखको दरले रकमको लेनदेन गरिरहेको समेत काम गर्ने तस्करहरूले नै सार्वजनिक गरेका छन् ।
अहिले यी क्षेत्रका नाकाहरूबाट दैनिक झण्डै तीनदेखि पाँच ट्रकसम्मको तस्करीको सामान प्रहरीको सेटिङमा चलिरहेको छ । हुदाहुदै एसपी होमेन्द्र बोगटीले राखेका बडी गार्ड सहायक हवल्दार ललन पट्टेलले समेत एसपीको भाग भन्दै तस्करहरूसंग रकम उठाउने गरेको व्यापारीहरू बताउँछन् । बारा नै घर भएका ललन लामो समयदेखि यहाँ कार्यरत, रहेको कारण उनले यहाँका व्यापारीदेखि तस्करहरू सबैलाई नजिकबाट चिन्ने भएको कारण पनि फाइदा उठाई रहेका छन् । यश बिषयमा प्रहरी प्रधान कार्यालयले छानबिन गरि उनीहरूलाई कारवाही गर्नुपर्ने माग यहाँको उद्योग बाणिज्य संघको माग रहेको छ ।