ललिता निवास प्रकरणमा को—को जालान् जेल

18.6k Shares

काठमाडौं । नेपालको इतिहासमा चर्चित भ्रष्टाचार काण्ड मध्येको ललिता निवास प्रकरण तात्ने र सेलाउने काण्डका रुपमा रहन गएको छ । पूर्वप्रधानमन्त्री, पूर्वमन्त्रीका अलावा पूर्व प्रशासक, नाम चलेका व्यवसायी, न्यायाधीश, कानून व्यवसायीलगायत शक्तिशाली व्यक्तिहरु मुछिएकाले यसबारे चासो रहँदै आएको हो । सरकारले फेरि ललिता निवास प्रकरणको फाइल खोलेर तरंग ल्याएको छ । फाइल खोलेपछि मंगलवार नै पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार साहसहित ७ जनालाई पक्राउ गरिसकेको छ । यसअघिका आइजीपी धीरजप्रताप सिंहको पालामा पनि फाइल खोलेर कारबाही बढाइएको थियो । 
ललिता निवास प्रकरणको अनुसन्धान पहिलो पटक सर्वेन्द्र खनाल आइजीपी हुँदा भएको हो । खनालले सरकारी जग्गा हडप्नेहरु विरुद्ध कडा कदम चाल्दै अनुसन्धानको निर्देशन दिएका थिए । उनले नै यो प्रकरणको अनुसन्धानपछि प्रतिवेदन बुझाएका थिए । यसैका आधारमा कारबाही अहिले पनि बढाउने गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले जनाए अनुसार बालुवाटारको ललिता निवास स्थित सरकारी, सार्वजनिक जग्गाको हिनामिनाको प्रकरण सम्बन्धमा छानविन गर्न १५ असार २०७५ मा समिति गठन भई उक्त समितिले २८ मंसिर २०७५ मा सरकारलाई छानविन प्रतिवेदन बुझाएको थियो । सो अवधिमा सर्वेन्द खनाल आइजीपीका रुपमा कार्यरत थिए । 
खनालले गृह मन्त्रालयलाई त्यतिबेला बुझाएको प्रतिवेदनमा ललिता निवासको ११२ रोपनी जग्गा गैरकानूनी रुपमा व्यक्तिको नाममा दर्ता भएको खुलाइएको थियो । जग्गा हिनामिना बहुदल आएपछि सुरु भएको थियो । यसमा प्रधानमन्त्रीदेखि मन्त्री, कर्मचारी र न्यायालयसम्मको सेटिङ खुलेको थियो । प्रहरीले अनुसन्धान गरी प्रतिवेदन बुझाएपछि पूर्वसचिव शारदाप्रसाद त्रितालको अध्यक्षतामा गठिन छानविन समितिका आधारमा २८ फागुन २०७५ मा मन्त्रिपरिषदको बैठकले ललिता निवास जग्गा हिनामिना प्रकरणको छानविन गर्न र संलग्नमाथि कारबाही गर्न अख्तियार र नेपाल प्रहरीको सीआइबीलाई जिम्मेवारी दिएको थियो । 
अनुसन्धानपछि २४ माघ २०७६ मा ललिता निवास जग्गा प्रकरणमा संलग्नहरुमाथि मुद्दा दायर भएको थियो । जसमा १७५ जना मुद्दामा तानिएका थिए । ललिता निवासको फाइल सर्वेन्द्र खनाल आइजीपी हुँदा खुलेर गहिरो अनुसन्धान भयो । त्यतिबेला कारबाही अगाडि बढ्यो । त्यसपछिका आइजीपीहरुले पनि फाइल खोले । वर्तमान आइजीपी वसन्त कुँवरको पालामा पुनः फाइल खोलिएको छ । तर, ललिता निवास काण्डलाई राजनीतिक अस्त्र बनाउने गतिविधि समेत हुन थालेको छ । 
यो प्रकरणमा मुछिएका कतिपय हस्तीलाई जोगाउन समेत खोजियो । तर, प्रचण्ड सरकारले फेरि संलग्नलाई पक्राउ गर्ने तयारी गरेको छ । ललिता निवास काण्डमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई पनि मुछिएका छन् । उनीहरु यसपटक तानिन सक्ने चर्चा चल्न थालेको छ । एमाले नेता विष्णु पौडेल, न्यायाधीश कुमार रेग्मी पनि मुछिएको घटना हो यो । यसकारण कुनैपनि बेला मुछिएकाहरु पक्राउ पर्न सक्ने चर्चा चल्न थालेको छ । 
मीनबहादुर गुरुङ किन पक्राउ परे ?
भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ देशका गनेचुनेका व्यवसायी हुन् । उनले सञ्चालनमा ल्याएको भाटभटेनीको शाखा देशभर विस्तार भइरहेको छ । हजारौंले प्रत्यक्ष अप्रत्यक्ष रोजगारी समेत पाइरहेका छन् । मीनबहादुर गुरुङ माओवादी द्वन्द्वकालमा धन बढाउन सफल व्यवसायी हुन् । त्यतिबेला धेरैको उद्योगधन्दा व्यापार व्यवसाय धराशायी हुँदा मीनबहादुरको भने उन्नति भयो । उनको माओवादी नेताहरुसँगको निकटताको विषय पछिसम्म चलिरह्यो । 
सम्पत्ति विस्तारका क्रममा उनले ललिता निवासको जग्गामा समेत आँखा गाडे । त्यहाँको जग्गा बढी खरिद गर्नेमा उनै पर्छन् । यो प्रकरणमा मुछिएका उनी फरार समेत भए । मगलवार प्रहरीले मीनबहादुर गुरुङलाई पक्राउ गरेको छ । प्रचण्ड प्रधानमन्त्री हुँदा मीनबहादुर पक्राउ पर्नुलाई चासोका साथ हेरिएको छ । उनलाई किन पक्राउ गरियो भन्ने प्रहरीले प्रष्ट पारेको छैन । ललिता निवास प्रकरणमा हो या अन्य कुनै प्रकरणमा यसबारे अनुसन्धान बढेको बुझिएको छ । 
मीनबहादुरकी छोरी पूर्वप्रधानसेनापति छत्रमान गुरुङकी बुहारी पनि हुन् । उनको सम्बन्ध शक्तिशाली निकायसम्म छ । यसकारण पनि लामो समय प्रहरीले मीनबहादुरलाई पक्राउ गरेन । यसपटक भने प्रचण्डकै अनुमति लिएर प्रहरीले पक्राउ गरी कारबाही बढाएको छ । 

सम्बन्धित समाचार