काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई उपप्रधानमन्त्री सहित सरकारमा भित्र्याउँने तयारी गरेका छन् ।
अोलीको संसद विघटनको निर्णयलाई घुमाउरो तरिकाले समर्थन गरेका नेता वामेदवलाई ओलीले चुनावी सरकारको गृहमन्त्री बनाउने तयारी गरेको स्रोतको भनाई छ ।
आइतबार बिहान आकस्मिक मन्त्रिपरिषद् बैठकबाट प्रतिनिधिसभा विघटन सिफारिस गरेका प्रधानमन्त्री ओलीको प्रस्ताव राष्ट्रपतिबाट स्वीकृत भइसकेको छ ।
सो निर्णयमा नेता गौतमले आफूले प्रधानमन्त्री ओलीको समर्थन पनि नगर्ने र विरोध पनि नगर्ने बताएका थिए । नेकपाका अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल सँगै ओलीको विरोध गर्दै आएका गौतम पछि पछिल्ला गुट भेलामा भने सामेल थिएनन ।
यसैबीच, संसद विघटन भए लगत्तै मन्त्रिपरिषद्मा रहेका पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षका मन्त्रीहरुले राजीनामा दिने तयारी गरेका छन् । अहिले उनीहरु छलफलमा रहेको नेकपाका एक नेताले बताए ।
अहिले बालुवाटारमा नेकपाको स्थायी कमिटि बैठक बसिरहेको छ । सो बैठकपछि निर्णय हुने बताइएको छ ।
मन्त्रिपरिषद्मा प्रचण्ड–नेपाल पक्षका घनश्याम भुसाल, वर्षमान पुन, शक्ति बस्नेत, बिना मगर, योगेश भट्टराई, गिरिराजमणि पोखरेल, रामेश्वर राय यादव मन्त्री छन् । प्रचण्ड पक्षबाट मन्त्री बनेता पनि रामबहादुर थापा बादल र लेखराज भट्टलाई अहिले ओली निकट मानिन्छ ।