सिन्धुली २८, मंसिर । उमेर नपुगेका दुई किशोरीसँग विवाह गर्ने दुई बेहुलासहितका जन्तीलाई प्रहरीले सिन्धुलीबाट पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय खुर्कोटले बेहुला-बेहुलीसहितका जन्तीलाई जग्गेबाटै पक्राउ गरेको हो। दुबै विवाह शुक्रबार हुँदै थिए। विशेष सूचनाको आधारमा खुर्कोटबाट गएको प्रहरी टोलीले उनीहरुलाई जग्गेबाटै पक्राउ गरेको हो ।
सुनकोशी गाउँपालिका- ४ भोर्लेनीकी १५ वर्षीया किशोरीसँग विवाह गर्ने २५ वर्षीय युवकसहित १० जना जन्तीलाई जग्गे (बेहुलीको घर)बाटै नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक शान्ता वाइवाले जानकारी दिइन्। प्रहरी बिहे घरमा पुग्दा सहभागीको भागाभाग चलेको थियो ।
‘सुनकोशी- ३ मझुवाबेँसीकी १७ वर्षीया किशोरीसँग विवाह गर्ने २२ वर्षीय युवकसहित उनीहरुका आफन्तलाई पनि जग्गेबाटै पक्राउ गरेका हौँ,’ वाइवाले भनिन्, ‘दुई विवाहबाट बेहुला-बेहुलीसहित १४ जना पक्राउ परेका छन्।’ पुरेत र अन्य सहभागी भने भागेका छन् । उनीहरुको पनि खोजी भइरहेको वाइवाले बताइन् । पक्राउपछि सबैलाई जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका उनीहरुमाथि कानुनी कारबाही अघि बढाइएको डिएसपी श्याम खत्रीले जानकारी दिए । ‘दुबै किशोरी पीडित भएकाले उनीहरुलाई केही दिनको परामर्शपछि छाड्छौँ,’ खत्रीले भने, ‘दुबै बेहुला, उनीहरुका आमाबुवा, मामासहित जन्तीमा सहभागीहरुलाई भने आज म्याद थप गरेर कारबाही प्रक्रिया अघि बढ्छ ।’
दुबै किशोरीलाई हाल जिल्ला प्रहरी कार्यालयको महिला सेलमा राखिएको छ । उनीहरुलाई महिला बालबालिका सेवा केन्द्रमा राखेर परामर्श दिने तयारी प्रहरीले गरेको छ ।
भोर्लेनीकी १५ वर्षीया किशोरीले २५ वर्षीय युवकसँग प्रेम विवाह गरेको प्रहरी अुनसन्धानबाट खुलेको छ । युवक र किशोरी दुबै तामाङ समुदायका हुन् । किशोरी केही दिन युवकको घरमा गएर बसेपछि परंपराअनुसार बेहुलीको घरमा बेहुला जन्तीसहित पगेका थिए । टाटासुमोमा चडेर गएका उनीहरुलाई प्रहरीले गाडीसहित नियन्त्रणमा लिएको हो ।‘उनीहरुले फेसबुकबाट चिनजान गरेर प्रेम विवाह गरेका रहेछन्,’ वाइवाले भनिन् ।
‘किशोरीको भविष्यमाथि असर पर्ने भएकाले उनीहरुको नाम सार्वजनिक गर्दैनौँ,’ डिएसपी खत्रीले भने, ‘दुबै वेहुलासहित पक्राउ पर्ने सबैलाई आज म्याद थप गरेपछि सार्वजनिक गर्ने छौँ ।’
मझुवाबेँसीकी १७ वर्षीया किशोरीसँग विवाह गर्ने युवक महोत्तरी बर्दिबासका भएको प्रहरीले जनाएको छ । उनीहरुको मागी विवाह हो । नेपालको मुलुकी अपराध संहिताले २० वर्ष उमेर नपुगेका केटाकेटीलाई विवाह गर्न निषेध गरेको छ । उमेर नपुगी विवाह गरे कसूर गर्ने व्यक्तिलाई दुई वर्षसम्म कैद र बीस हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।