काठमाडौं । नेपाली कांग्रेसले आगामी २९ गते घोषणा गरेको सरकारविरुद्धको प्रदर्शनको जिम्मा जिल्ला कार्यसमितिलाई दिएको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकले केन्द्रबाट पदाधिकारी नखटाउने निर्णय गरेको हो । सहमहामन्त्री डा. प्रकाशरण महतले २९ गतेको विरोध प्रदर्शन सांकेतिक मात्र भएकाले केन्द्रीय प्रतिनिधि नतोकिएको जानकारी दिए ।
‘‘यो सांकेतिक विरोध मात्र हो, त्यसैले केन्द्रीय प्रतिनिधि तोक्ने काम भएको छैन,’’ सहमहामन्त्री महतले भने, ‘‘त्यसपछि बृहत विरोधका कार्यक्रम ल्याउन ३० गते पछि छलफल सुरु हुनेछ ।’’
यसअघि नै जिल्ला कार्यसमितिलाई परिपत्र गरिसकेको कांग्रेसको पदाधिकारी बैठक केन्द्रबाट नेतृत्व गर्ने पदाधिकारी पठाउने नपठाउने भन्ने विषयको छलफलका लागि डाकिएको थियो ।
‘‘सरकारले प्रतिपक्षी विचारलाई निषेध गर्ने र त्यस्ता पक्षलाई दमन गर्ने रणनीति लिएको छ,’’ कांग्रेस नेता अर्जुननरसिंह केसीले बैठकपछि भने, ‘‘तरुणदलका नेताका हत्यादेखि विपक्षीलाई दमन गरेर जाने शैली विरुद्ध यसपटक सांकेतिके विरोध मात्र गर्न लागिएको हो ।’’