काठमाडौं । योगगुरु बाबा रामदेव फेरि नेपाल आएका छन् । उनको बाक्लो नेपाल भ्रमणप्रति धेरैको चासो छ । रामदेवको बहुराष्ट्रिय कम्पनी छ । जसको नाम पतञ्जली राखिएको छ । रामदेवलाई जडिबुटी चाहिन्छ जुन नेपालमा छ । त्यसमाथि पश्चिम नेपालमा बढी जडिबुटी पाइन्छ । सँसारमै बढी माग हुने यार्सागुम्बामा रामदेवको चासो छ । त्यसैले उनी खप्तडमा पुगेका छन् । खप्तड क्षेत्र यार्सागुम्बाको हव नै हो । सुदूरपश्चिमको हिमाली भागमा ठूलो मात्रामा यार्सागुम्बा पाइन्छ । त्यसबाहेक अन्य बहुमूल्य जडिबुटी पनि खप्तडमै छ । रामदेवले त्यही जडिबुटीमा आँखा लगाएका थिए ।
त्यसो त खप्तडमा प्रथम अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन गर्नुभित्र पनि व्यापारिक स्वार्थ छ । पतञ्जलीले जडिबुटी प्राप्त गरेर भारत लगी विभिन्न उत्पादन गर्ने योजना बुनेको छ । रामदेवले नेपालमै कम्पनी खोलेको घोषणा गरेका थिए । तर, व्यवसायी डा. उपेन्द्र महतोसँगको विवादले विषय मोडियो । महतो जमिन आफ्नो ब्रान्ड मात्र रामदेवको भन्थे । तर, रामदेव जमिन पनि कम्पनीकै नाममा राख्न चाहन्थे । जुन सफल हुन सकेन ।
यसैगरी, रामदेवले नेपालमा आफ्नै टेलिभिजन चलाउन खोजेका छन् । विगतमा कानूनी समस्या आएको थियो । अहिले त्यसको व्यवस्थापन गरेर मण्डिखाटारमा टेलिभिजन चलाउन ठिक्क पारिएको छ । आफ्नो उत्पादनको प्रचार रामदेव आफै गर्दैछन् अब । रामदेव बहुकम्पनी खोलेर ठूलो लाभ लिने मध्ये पर्दछन् । उनले कम्पनीकै माध्यमले आफ्नो शक्तिको भरपूर अभ्यास गर्दै आएका छन् । रामदेवले भारत सरकारलाई ठूलो कर पनि तिर्छन् ।